१८ बैशाख, इटहरी। नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नम्वर १ ले विश्वका सम्पूर्ण मजदुर एक हौ भन्ने नारा लगाउँदै आज सुनसरीको दुहवी नगरपालिका क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सार्क टु का महासचिव एवम नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले जुन देशको शासक तथा प्रशासकले मजदुरप्रति न्यायपूर्ण नीति बनाएर कार्यान्वयन गर्न सक्दैन त्यो देशले समग्र विकासमा ठोस परिवर्तन ल्याउन सक्दैन भन्ने दावी गर्नुभयो ।

मजदुर नेता एवम सार्क टु का महासचिव बस्नेतले नेपालमा मजदुरहरुको अथक मिहेनत र सक्रियतामा नेपालीहरुले ठूला राजनीतिक परिवर्तन गर्ने सफलता प्राप्त गरेको भए पनि अझै नेपाली मजदुरहरुले न्यायोचित प्रतिफल भने पाउन नसकेको पनि स्पष्ट पार्नुभयो । सार्क टु महासचिव बस्नेतले नेपाली किसानहरुले जसरी आफ्नो उत्पादनको मुल्य सहज रुपमा प्राप्त गर्न सकिरहेका छैनन त्यसैगरी मजदुरहरुले पनि कामको ज्याला सहज रुपमा पाउने अवस्था रहेको तर्फ राज्य जानकार भएर पनि अझै त्यसको ब्यवस्थापनमा राज्य बेखवर झै बस्नु अन्यायपूर्ण रहेको पनि उहाको भनाई रहेको थियो ।

सोही अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका सह कोषाध्यक्ष जनार्दन निरौलाले नेपाली मजदुरहरुले श्रमको न्यायोचित मुल्य पाउने अवसर नहुनु भनेको हामी नेपालीहरुले राज्यबाट न्याय पाउन सक्ने अवस्था नरहेको बताउनुभयो । प्रदेश नम्वर १ का अध्यक्ष नारायणबाबु कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेताहरु मोहम्मद अब्दुल मियाँ मेहन्दी हुसैन माधव चौधरी लगायतले बोल्नुभएको थियो । त्यसअघि दुहवीको साह सेवा भवनबाट निक्लिएको प्रभातफेरिले दुहवी नगरको परिक्रमा गरेको थियो ।

तपाईको प्रतिक्रिया