police-madhes-890x395_c

सप्तरी, कन्चनपुर, मंसिर ७ । सप्तरीमा आज बिहानै पाँच राउण्ड हवाई फायर भएको छ । सप्तरीको कन्चनपुर नपा, कन्चनपुर बेरियरमा राजमार्ग खुलाउने क्रममा प्रहरीले बिहान साढे ६ बजे हवाई फायर गरेको हो ।हवाई फायरिङबाट हताहती भएको थाहा भएको छैन भने राजमार्ग छेउछाउका सबै बस्तीमा तनाव छ ।पूर्व पश्चिम राजमार्गमा रातदिन धर्नामा रहेका मधेसी आन्दोलनकारीले आज पनि स्कर्टिङमा ल्याएका गाडीहरुमा ढुंगामुढा गरी सिसा फुटाएका छन् । आज राति स्कर्टिङको क्रममा ढिलो गरी आएका गाडीहरुका लागि बाटो खोल्न हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।अहिले एक सय वटा गाडी बरमझियास्थित दन्तकाली सशस्त्र प्रहरी गण वरपर जम्मा गरी राखिएका छन् । त्यहाँ असुरक्षा, तनाव र भोकका कारण यात्रुहरुको बिचल्लीको अवस्था रहेको छ । कन्चनपुर, भारदह, लौकीलगायत राजमार्ग छेउछाउका सबै बस्तीमा आन्दोलनकारीहरुको व्यापक प्रदर्शन जारी छ ।हिजो चार जना मधेसी आन्दोलनकारी मारिएपछि भारदह र लौकीबीच रहेको पुल भत्काउने प्रयास गरिएको थियो । विशेष गरी पुलमुनि खाडल खन्ने र रेलिङ भत्काएर आधा पुल तोड्न कोसिस गरिएपछि प्रहरी हस्तक्षेपका कारण पूरै पुल नष्ट भएन ।

चिकित्सकद्वारा कामकाज ठप्प
प्रहरीको गोली लागेर रूपनीमा मृत्यु भएका नागेश्वर यादवको शव राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको हुनाले त्यहाँ आइतबार बिहानैदेखि सयौँको संख्यामा मोर्चा कार्यकर्ता र सर्वसाधारणको भीड जम्मा भएको थियो । सोही वेला अस्पताल आएका जिल्ला प्रहरी कार्यालयको ना१झ १३१६ नम्बरको भ्यानमा आक्रोशित उपस्थित भीडले आगजनी गरिदिएपछि राजविराजको स्थिति तनावग्रस्त बन्न पुगेको हो । प्रहरी अस्पतालमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठीचार्ज गरेकाले काम गर्ने अवस्था नभएको भन्दै आइतबार दिउँसोदेखि अस्पताल बन्द गरेको प्रमुख यादवले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया