३१ वैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो।

मतदान सकिएपछिका ८ प्रक्रिया यस्ता छन् –

१)    मतदान सकिएको घोषणा

लाइनमा बसेकाहरुले मतदान सकेपछि मतदान अधिकृतले मतदान समापन भएको घोषणा गर्दै सबै उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाई बोलाउने छन्।

२)     सिल लगाउने

उनीहरुको रोहवरमा मतदान अधिकृतले मतपटिकाको मत खसाल्ने प्वाल बन्द गरी हरियो रङको सुरक्षण शील लगाउनेछन्। त्यसरी बन्द गर्दा उम्मेदवार र प्रतिनिधिको रोहवर मुचुल्का तयार गर्नेछन् र त्यसमा उम्मेदवार, प्रतिनिधि र उपस्थित अधिकारीको हस्ताक्षरसहितको सही छाप लिनेछन्।

त्यसपछि मतदान अधिकृतले स्थानीय निर्वाचन निर्देशिका २०७३ को अनुसूची ४१ बमोजिम मतपेटिकाको  फाँटवारी तयार पार्नेछन्। त्यसमा उम्मेद्वार र प्रतिनिधिसहित उपस्थितहरुको सहिछाप लिनेछन्।

३)    मतपेटिका बाहिरका मतपत्र खामबन्दी

प्रयोग नभएका, फिर्ता भएका र मतपेटिकाबाहिर रहेका मतपत्रसहित सबै कागजात सुरक्षित गरी खामबन्दी गरेर त्यसमा पनि लाहाछाप लगाउने छन्। र के कति कागजात रहेको भन्ने उल्लेख गरी अर्को मुचुल्का तयार पार्नेछन्।

४)     मतपेटिका सुरक्षासहित मतगणनास्थलमा

मतपेटिका बन्द गर्दाको मुचुल्का अनुरुप मतपेटिका सुरक्षासहित मतगणनास्थलमा पुर्‍याइन्छ। त्यसरी मतपेटिका लैजाँदा उम्मेदवार र उसको प्रतिनिधिलाई पनि लैजानुपर्ने व्यवस्था छ। त्यसरी लगिएको मतपेटिका मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाउनु पर्छ। त्यससँगै प्रयोग नभएका सामाग्री र त्यसको भर्पाई समेत निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने व्यवस्था छ।

५)    निर्वाचन अधिकृतको नियन्त्रणमा मतपेटिका

त्यसरी मतदान अधिकृतले बुझाएपछि मतपेटिकाको जिम्मा निर्वाचन अधिकृतमा हस्तान्तरण हुनेछ। निर्वाचन अधिकृतले मतपेटिका पुग्नअघि नै त्यसको सुरक्षा र राख्ने स्थानको व्यवस्था गर्नुपर्छ। त्यसका लागि उनले स्थानीय प्रशासनको सहयोग लिनसक्छन्।
मतदान अधिकृतले आफ्नो एरियाभित्रका मतपेटिका संकलन गर्छन्। सबै मतपेटिका संकलनपछि निर्वाचन अधिकृतले संकलन गरिएको स्थान सुरक्षित हुने र मतपेटिका सुरक्षित हुनेगरी उम्मेद्वारलाई आश्वस्त पारेर मुचुल्का गर्नुपर्छ। र, सही छाप लिनुपर्छ। सबै उम्मेद्वारको सही छापपछि कोठामा ताल्चा मारी त्यसमा समेत लाहाछाप लगाउनु पर्नेछ।

६)    मतगणना स्थल तोक्ने

त्यसपछि निर्वाचन अधिकृतले मतगणना स्थल तोक्नेछन्। स्थान तोकेपछि त्यसको सूचनासमेत प्रकाशित गर्नुपर्नेछ। त्यसरी ठाउँ तोक्दा निर्वाचन अधिकृतको कार्यालय वा स्थानीय तह गाउँ वा नगरपालिकाको कार्यालयलाई प्राथमिकता दिनुपर्ने प्रावधान छ।
स्थान तोक्दा सँगै वा सम्भव नभएमा मतगणना हुने स्थान तोकेर अर्को सूचना प्रकाशित गर्नुपर्ने छ। तर कुनै कारणले एउटा मात्र मतदान केन्द्रमा मतदान रोकियो वा पुनः गराउने निर्णय भयो भने त्यो समेतको मतदान सकेन मतपेटिका नआउँदासम्म मतगणना सुरु हुँदैन।

७)    मतगणनामा खटिने कर्मचारी तोकिने

मतगणनाको स्थान तोकिसकेपछि मतगणनामा खट्ने कर्मचारी पनि निर्वाचन अधिकृतले नै तोक्नेछन्। त्यसरी अधिकृतले कमर्चारी तोकेपछि उम्मेदवार वा उसको प्रतिनिधिको रोहबरमा मुचुल्का गरी त्यसमा सही छाप गराउनेछन्। र मतपटिकाको अवस्थाबारे जाँच हुनेछ।
जाँचपछि ठीक ठहर भएमा प्रत्येक वडाको मत छुट्टाछुट्टै गणना सुरु गरिने छ।

८)    यसरी गनिन्छ मत

मतगणना सुरु गर्न ठीक छ भनिसकेपछि सबैभन्दा पहिला मतपेटिकाको सिल तोडिने छ। सिल तोडेपछि मतपत्र खन्याइन्छ। खन्याएर खाली भएको मतपत्र सबैलाई देखाएर सुरक्षित राखिन्छ।

मतपेटिका घोप्ट्याएर मतपत्र निकालिन्छ। त्यसपछि मतगणनामा खटेका कर्मचारीले मतपत्र उपस्थित प्रतिनिधिलाई देखाउँछन् र मतगणना सुरु गर्छन्। तर उपस्थित प्रतिनिधिलाई मतपत्र छुन भने दिन नहुने प्रावधान छ।

त्यसरी देखाउँदै जाँदा सबैभन्दा पहिले बदर मत छुट्टाएर मात्र सदर मतको गणना हुन्छ। पुरै बदर नभएको मतपत्रमा भने बदर मतगणनाकै क्रममा छुट्टाइने छ। त्यसरी मतगणना गर्दा मत परिणाम अनुसूची ५१ अनुसारको फारममा चढाउनुपर्ने व्यवस्था छ।

मतगणना सुरु भएपछि बीचमा स्थगित गरेर रोक्न नपाइने व्यवस्था छ। सकिएपछि सदर मत र बदर मत छुट्टाछुट्टै सिलबन्दी गरी बन्द गर्नुपर्छ। त्यसरी बन्द गर्दा मतगणना सकिएको मुचुल्का तयार पारी मतगणनामा सहभागी उम्मेदवारका प्रतिनिधि र कर्मचारीले सहीछाप गर्नुपर्छ। प्रत्येक पदको मत परिणामसहितको तालिका तयार पारेपछि अन्तिममा निर्वाचन अधिकृतले निर्वाचन परिणाम घोषणा गर्छन्।

त्यसरी मत परिणाम घोषणा गरी सबैभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गर्दा घोषणाको कपि बनाएर एक प्रति आफ्नो कार्यालयमा प्रकाशन गर्ने र अर्को कपि आयोगमा पठाइन्छ।

त्यसपछि प्रमाणपत्र वितरणको मिति तोकेर निर्वाचन अधिकृतले वीजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्नेछन्। त्य्तो प्रमाणपत्र समेत दुईप्रति बनाएर एक कपि उम्मेदवारलाई दिनेछन् भने एक कपि अभिलेखका लागि जिल्ला निर्वाचन कार्यालयमा पठाउनेछन्। मत परिणामको विवरण भने आयोगमा पठाउनुपर्छ। त्यसपछि मतगणनाको कामले पूर्णता पाएको मानिन्छ।

तपाईको प्रतिक्रिया