अमर काफ्ले इनरुवा,जेठ ५/ इनरुवाको कमल टाकिज संचालनमा आउने भएको छ । खर्च धान्न नसेकपछि बैशाख १ गतेबाट बन्द कमल टाकिज यतिवेला नयाँ साजसज्जामा फिल्मी मनोरञ्जन पस्कन दर्शकमाझ आउने तयारीमा जुटेको छ ।
कमल टाकिज सदरमुकाम इनरुवाको एकमात्र सिनेमा घर हो । सिनेमासँग जोडिएका निकै रेकर्ड र प्रभाव छाड्न सफल उक्त सिनेमा घरमा यतिवेला रङरोगन र सरसफाईको काम भैरहेको छ ।
सिनेमा हल बन्द भएपछि इनरुवाको सान गुमेको निष्कर्शमा पुगेको स्थानीय युवा समूह हल संचालनको जमर्कोमा जुटेको हो । बन्द हल पूनः संचालनमा ल्याउने प्रयासमा स्थानीय संचारसँग सम्वन्धित व्यक्तिहरु लागिपरेका छन् ।
महिनाको ६० हजार तिर्नेगरी भाडामा लिएर नयाँ स्वरुपमा हल संचालन गर्न लागिएको हो । हल व्यवस्थापन र संचालन तयारीको कार्यलाई अन्तिम रुप नदिएसम्म संचालक समूहको नाम भने सार्वजनिक नगर्ने सहमति बनेको एक संचालकले बताए ।
यही जेठ महिनाको दोस्रो साताबाट सिनेमा घर संचालनमा आउने बताइएको छ । करिव डेढ महिना बन्द कमल टाकिजले नयाँ संचालक समितिसँगै बाहुबली २ बाट प्रर्दशन थाल्ने छ । दैनिक तीन शो संचालन हुने सिनेमा घरको नयाँ टिकट दर बाल्कोनी ८० रुपैंया र स्पेशलको ७० रुपैंया तोकिने भएको छ । यसअघि बाल्कोनीको टिकट मूल्य ६० र रिबाल्कोनीको ५० रहेको थियो ।
प्रारम्भिक ८ लाख खर्च लागतमा हल मर्मत, संरचना निर्माण र व्यवस्थापनको कार्य अघि बढाइएकोे बताइएको छ । संचालक समूहले आवश्यकता अनुरुप परिमार्जन सहित सिनेमा घरलाई व्यवस्थित र परिवारमैत्री बनाउदै लैजाने जनाएको छ ।
व्यवस्थित शौचालय, सुरक्षा गार्ड, पार्किङ, सरसफाईलाई ध्यानमा राखि सिनेमा हल संचालन गर्न लागिएको छ । हलभित्र सुर्तिजन्य पदार्थ पूर्ण रुपले निषेध गरिने भएको छ ।
साउण्ड सिस्टम र लाइटमा सुधार गरिने भएको छ । डिजिटल सिनेमा घरको ढाँचामा हल संचालनको तयारी थालिएको संचालक मध्येका एकले जानकारी दिए ।
तत्कालकालागि हलभित्रको वातावरण चिसो बनाउन कुलर सिस्टमलाई व्यवस्थित बनाइने छ । केही महिनाभित्र एसी सहितको तीनवटा छुट्टाछुट्टै क्याविन निर्माण गरिने बताइएको छ ।
आमसर्वसाधारणलाई मध्यनगर गर्दै बाल्कोनी र स्पेशल कक्ष राखिने छन् । एसी सहितको तीन वटा क्याविन इक्षाएकाहरुले बुकिङ समेत गर्न सक्नेछन् । सीमित क्षमताको बनाइने एसी कक्ष बुकिङ नभएको अवस्थामा अन्य जोकोहीले तोकिएको मूल्य तिरेर सिनेमा हेर्न सक्नेछन् ।
एक वर्षकालागि ठेक्कामा लिई संचालन गर्न लागिएको सिनेमा घरमा तत्कालकालागि शनिवारको विहानी छुट शोको व्यवस्था गरिएको छैन् । रिलिजसँगैका नयाँनयाँ फिल्म चल्ने क्रमसँगै दर्शकको चाहना अनुरुप सबै सेवा र सुविधा थप्दै जाने संचालकहरुले जनाएका छन् ।
हल संचालनको तयारीसँगै व्यवस्थित क्यान्टिन समेत संचालनमा ल्याइन लागिएको छ । क्यान्टिन संचालनकालागि इच्छुकहरुकालागि सम्पर्कमा आउन आव्हान समेत गरिएको छ । सुरुवातको २ महिना निशूल्क रुपमा क्यान्टिन संचालन गर्न दिइने र त्यसपछि निश्चित भाडा दर कायम गरिने जनाइएको छ । क्यान्टिनमा चिसो पानी, चिसो पेय पदार्थ, पपकोन तथा नास्ता उपलब्ध हुनेछन् । टिकट काउण्टर व्यवस्थित बनाइनुकासाथै दर्शककालागि प्लानिनङ अनुरुपको सिट मिलाइने बताइएको छ ।
सिनेमा घरमा राखिने सुरक्षा गार्डले निषेध गरिएका पदार्थ अटेर गरी प्रयोग वा सेवन गर्ने र हुलहुज्जतमा संलग्न भए नियन्त्रणमा लिन सक्ने छ । त्यस्ताको हकमा कानुन बमोजिम कार्वाहीकालागि प्रहरीसँग समन्वय गर्ने तयारी समेत थालिएको संचालक समूहले जानकारी दिएको छ ।
खर्च धान्न नसकेको भन्दै हल संचालक कमल श्रेष्ठ सिनेमा घर बन्द गरी गोदामकालागि हल भाडामा दिने तयारी थाल्दै गर्दा ५ जनाको समूह मिलेर भाडामा उक्त हल संचालन गर्न लागेका हुन् । इनरुवाको सान गुम्न नदिन र जनचाहनाको सम्मान स्वरुप सिनेमा घर संचालनमा जुटेको एक संचालकले बताए ।
खर्च धान्न नसकेपछि कमल टाकिज बन्द भएको विषयको समाचार केहिसाताअघि पहिलो पटक इनरुवा अनलाइनले प्रकाशन गरेको थियो । अन्य केही स्थानिय संचारमाध्यमले समेत सो विषयको उठान गरेपछि हल संचालनमा ल्याउन पहल थालिनुपर्ने विषयको बहस चलेको थियो ।

तपाईको प्रतिक्रिया