अमर काफ्ले,जेठ ९, इनरुवा /  सरकारले स्थानीय तहको संख्या बढाएसँगै सुनसरीमा २ गाउँपालिका थप भएका छन् । यसअघि १२ स्थानीय तह कायम भएको सुनसरीमा पछिल्लोे मन्त्रिपरिषद्को निर्णयसँगै लौकही र भुटाहा गाउँपालिका थपिएका छन् ।
नयाँ थप भएको गाउँपालिका अन्र्तगत भुटाहामा बशन्तपुर, घुस्की र भुटाहा समावेश गरिएका छन् । यसअघि भुटाहा, बसन्तपुर र घुस्की हरिनगरा गाउँपालिकामा रहेका थिए ।
हरिनगरा गाउँपालिकामा भने यसअघि गढी गाउँपालिकामा रहेको सत्तेरझोरा थप भएको छ । सत्तेरझोरासँगै हरिनगरा गाउँपालिकामा हरिनगरा, गौतमपु र जल्पापुर कायम हुने भएका छन् ।
त्यसैगरी नयाँ बनेको लौकही गाउँपालिकामा लौकही,पश्चिम कुशाहा र मधुवन समायोजन गराइएका छन् । मधुवन यसअघि बराह गाउँपालिकामा कायम गरिएको थियो ।
यसअघि हरिपुर, श्रीपुर, लौकही र पश्चिम कुशाहा मिलाएर कोशी गाउँपालिका बनाइएको  थियो । कोशी गाउँपालिकामा भने अब श्रीपुर र हरिपुर मात्र पर्नेछन् ।
गढी गाउँपालिकाबाट सत्तेरझोरा बाहिरिएर हरिनगरा पुग्दा यसअघि इनरुवामा गाभिएको चाँदबेला गढीमा मिसिएको छ । त्यसैगरी इनरुवामै यसअघि गाभिएको जल्पापुर हरिनगरा गाउँपालिकामा समायोजन भएको छ ।
नयाँ संरचना अनुसार सुनसरीमा १४ वटा स्थानीय तह कायम भएका छन । जसमा २ उपमहानगरपालिका सहित ४ नगरपालिका र ८ गाउँपालिका रहेका छन् । जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष समेत रहेका स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठले दिनुभएको जानकारी अनुसार नयाँ थपिएका गाउँपालिका कार्यान्वयनमा ल्याउने तयारी सुरु भैसकेको छ ।

 

तपाईको प्रतिक्रिया