काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावीरुपमा बाटो काट्ने पैदलयात्रीलाई रु २०० जरिवाना गर्ने भएको छ ।महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्री रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सन्चालन गर्न लागेको जानकारी दिए ।

उनले भने–‘जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०/८० जनाले ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।’ महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ ।

ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रीले बाटो काट्दा जेब्राक्रसिङ र अकाशेपुल नै प्रयोग गर्नुपर्छ । जथाभावी बाटो काट्नेलाई रु २०० देखि रु एक हजारसम्म जरिवाना गरिने कानुनी व्यवस्थाबमोजिम कारबाही गर्न लागेको प्रमुख लामाले बताए ।

पैदलयात्राकाक्रममा साथमा रु दुई सय पनि नभएका यात्रीलाई तीन घन्टासम्म नियन्त्रणमा लिइ ट्राफिक नियमसम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ । महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाईसमेत कारबाही गर्दैआएको छ । गत चैत २८ गतेदेखि शनिबारसम्म सात हजार ४६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया