काठमाण्डाै । ‘म स्वयंसेविका हुँ। घरघर आमा र बच्चाको जिउज्यानको हालखबर बुझ्न जान्छु। स्वास्थ्य चेतना फैलाउन खट्छु। सबैले मलाई गाउँको आमा भनेर बोलाएको सुन्दा निकै खुसी लाग्छ’, १६ वर्षअघि बोक्सी आरोपमा मरणासन्न हुनेगरी गाउँलेबाट यातना भोगेकी ६० वर्षीय मरनीदेवी भन्छिन्, ‘जसले मलाई बोक्सी भनेर कुटपिट गरे उनीहरू नै आज मलाई आमा भनेर बोलाउँछन्। बोक्सी हुँदैन भन्ने अहिले सबैले बुझेका छन्।

 

स्वयंसेविकाको ड्रेसमा गाउँमै भेटिएकी मरनीले थपिन्, ‘बोक्सी भन्दै मलाई कुटियो, बेहोस अवस्थामा पाँच दिन अस्पताल बसेँ। मैले कुनै समयमा पाएको दुःखले महिला अहिले गाउँमा सुरक्षित भएका छन्। गाउँमा बोक्सी भनेर कसैलाई आरोप लाग्दैन। मलाई यसमा निकै खुसी लागेको छ।’

०५८ साल साउनमा गाउँलेले बोक्सी आरोप लगाउँदै अमानवीय व्यवहार गरेको सम्झिँदा मरनी एकाएक भक्कानिइन्। उनले भनिन्, ‘के बोक्सी हुन्छ ? गरिब, एकल महिला नै बोक्सी हुन्छ ? यो सब कुरा गलत हो। मैले बोक्सीको आरोपमा धेरै यातना पाएको छु। तर, अब अरू महिला दिदी-बहिनीले बोक्सी आरोपमा कुटपिट सहनु पर्दैन। म यसैका लागि पनि ठाउँ-ठाउँमा आवाज उठाइरहेको छु।’ ४० वर्षदेखि निरन्तर स्वयंसेविका भएर आफ्नै गाउँ महोत्तरीको सिमरदही गाविसमा काम गरिरहेकी उहाँको जीवन अहिले निकै राम्रो छ।

मरनीले विद्यालय शिक्षा लिएकी छैनन्। तर, उनी गाउँघरमा महिला दिदीबहिनीलाई गर्भ जाँच गर्नुपर्छ भन्ने सम्झाउँदै टोल-टोल घुम्छिन्। प्रत्येक महिनाको १५ गते गाउँ घर क्लिनिकमा बोलाएर सबै गर्भवती महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छिन्। मरनीलाई बच्चालाई अनिवार्य रूपमा दिनुपर्ने पोलियो थोपा, दादुरा, डिपिटी सुईको नाम कण्ठै छ।

‘१०-१२ वर्षको उमेरमा मेरो विवाह भयो। आफ्नै विवाहबारे मलाई थाहा छैन। बुबाआमाले तेरो विवाह सानै उमेरमा भयो भनेर सुनाउनुहुन्थ्यो’, उनले भनिन्, ‘पहिला गाउँमा बालविवाह हुन्थ्यो। सानै उमेरमा बच्चा जन्मिन्थ्यो। अस्पताल र डाक्टर कहीँ-कतै थिएन। मेरो पाँच जना दाजु र दिदी निमोनियाले मरे। म जन्मेपछि सबै सन्तान मरेको भन्दै मेरो बुबा-आमाले मरनी भनेर नराम्रो नाम राखिदिए। म बाँचे पनि,’ जनचेतना अभावमा गर्भवती महिलाले गर्भजाँच नगराउने, शरीरमा रगतको मात्रा कम भएपछि आइरन चक्की नखाने, कुनै पनि खोप बच्चाले नपाउने कारणले आफ्नो टोलमा धेरै बच्चा अकालमै मरेको उनको अनुभव छ।

‘मलाई बोक्सी भनी कुटपिट गरेपछि म समाजसेवामा लागें। बोक्सी पीडित हुनुभन्दा पहिला पनि म स्वयंसेविका नै थिए। बोक्सी भन्दै मेरो हातको पोलियो थोपा बच्चालाई खुवाउँदैनथे। म बोक्सी पीडित भएपछि गाउँमा जनचेतनामूलक कार्यक्रम आयो। अहिले त मेरो हातबाट सबैले पोलियो थोपा आफ्ना बच्चालाई खुवाउँछन्।’अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया