काठमाडौं । एमाले नेता माधवकुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले ‘बुलेट प्रुफ’ ज्याकेट लगाएर हिँडेको रहस्योद्घाटन गरेका छन् । गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले सो रहस्योद्घाटन गरेका हुन् ।

‘द्वन्द्वकालमा मलाई पूर्वआइजिपी अच्युतकृष्ण खरेलले एउटा बुलेट प्रुफ ज्याकेट दिनुभएको थियो,’ एमाले कागेश्वरी मनोहरा–९ द्वारा आयोजित कार्यक्रममा नेपालले भने, ‘माओवादीले कतिखेर कसलाई के गर्छन्, भन्न नसकिने स्थिति भएकाले मैले भित्रपट्टि त्यो ज्याकेट लगाएर हिँड्न थालेँ । २०६४ को चुनावमा आफ्नो निर्वाचन क्षेत्रमा डुल्दासमेत मैले त्यो ज्याकेट लगाएको थिएँ ।’

नेता नेपालले माओवादी अराजक गतिविधिकै कारण समाजमा आलोचित हुँदै गएको पनि बताए । ‘उनीहरुलाई कसैले सिध्याएको होइन, आफैं सकिँदै गएका हुन्,’ उनले भने, ‘अघिल्लो चुनावसम्म माओवादीको हाउभाउ र रवैया कस्तो थियो, तर अहिले खुम्चिँदै जानुपरेको छ । राजनीतिमा धेरै घमण्डगर्नेहरु, मेरो गोरुको बाह्रै टक्का गर्नेहरु लामो समय टिक्न सक्दैनन् । त्यसैले कसैले पनि घमण्ड गर्नु हुँदैन ।’आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया