आत्मरक्षाका लागि गोली चलाइयो : एसएसबी/
अमर काफ्ले हरिपुर ९ मंसिर। आज विहान सुनसरीको हरिपुर ७ स्थित नेपाल भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागि ४ नेपाली घाइते भएका छन् ।विहान सबेरै भएको घटनामा एसएसबीका जवानले नेपाली भूमिमा प्रवेश गरी गोली चलाउँदा स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका हुन् ।जसमध्ये अशोकको छातिमा र नरेशको कम्मरमा गोली लागेको छ अन्य दुइलाई भने गोलीको छर्रा लागेको सुनसरी प्रहरीले जनाएको छ ।दशगजा मिचेर नेपाली भूमि प्रवेश गरेका एसएसबीका जवानहरुले नेपाली बस्तीमा अन्धाधुन्ध गोली प्रहार गरेको घाइते अशोककी आमा गितादेवीले बताइन् ।लामो समयदेखि भारतीय सुरक्षाकर्मीको ज्यादती सहदै आएको बताउने स्थानीयहरुले पछिल्लो घटना समेत सोहीको पराकाष्ठा भएको बताए । घटनाले आफुहरुलाई थप त्रसित बनाएको उनिहरु बताउँछन् ।घटनाका विषयमा सुनसरी प्रहरीले समेत एसएसबीको प्रत्यक्ष संलग्नता रहेको बताएको छ । सुनसरीका प्रहरी प्रमुख संजयराज शर्माले केही तस्करहरुसँग आपसी भनाभन पछि तनावपूर्ण अवस्थाकावीच एसएसबीका जवानहरुले नेपालीमाथि गोली प्रहार गरेको बताए ।
सतना पोष्ट अन्र्तगत शैलेशपुर सीमा पोष्टबाट नेपाल भारत सीमामा खटिएको एसएसबीको टोलीले नेपाली भूमिमै प्रवेश गरी नेपालीहरुमाथि गोली प्रहार गरेको सुनसरी प्रहरीको भनाई छ ।साइकलमा मलखाद सहित इन्धन नेपाल तर्फ भित्र्याउँदै गरेको समूहलाई चेकजाँचका क्रममा एसएसबीका जवानले रोक्ने क्रममा दई पक्षिय सामान्य झडप भएको थियो । सो क्रममा तस्कर समूह र एसएसबीका जवानवीच हातहालाहालको अवस्था सीर्जना हुँदा केही भारतीय सुरक्षाकर्मी समेत घाइते भएको र नेपाली तर्फबाट युवाहरुको समूह आफुहरुमाथि जाइलाग्न थालेपछि आत्मरक्षाका लागि हवाइ फायर गरिएको ४५ नम्बर बटालियनका कमाण्डेड रामअवतार भलोटियाले बताए । उनले आफ्ना जवानहरु दशगजा मिचेर नेपाली भूमिमा नगएको दावी गरे । उनका अनुसार झडपका क्रममा एसएसबीका जवानहरु राम सेवक, विरेन्द्र कुमार बनकुटी र रविकान्त घाइते भएका छन् ।यता नेपालीहरुले भने भारतीय सुरक्षाकर्मीको ठुलो समूह नेपाली भूमिमा छिरेर गोली हानेको दावी गरेका छन् । भारतीय सुरक्षाकर्मीहरुले सबुत मेटाउन रगतका टाटा, खोका र गोली लागेको रुखका हाँगा समेत काटेर लगेको नेपाल तर्फका स्थानीयवासिन्दाले बताए ।
घटनाका सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भारतीय पक्ष्यले सुरुमा गल्ती स्विकारेको भएपछि अहिले आएर भनाई परिवर्तन गरेको बताउनुभयो । आत्मरक्षाका लागि एसएसबीले भारतीय भूमिबाटै गोली चलाएको दावी गरेपनि घटनाको वस्तुस्थिती हेर्दा उनिहरुको भनाई झुटो भएको बताउनुभयो । प्रजिअ पन्थले एसएसबीले नेपाली भूमिमै प्रवेश गरी नेपालीमाथि गोली चलाएको दावी गर्नु भयो । प्रजिअ पन्थले घटनाका सन्दर्भमा भारतीय उच्च पदाधिकारीहरुसँग छलफल जारी रहेको बताउनुभयो ।