काठमाडौं । शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत कङ्गोमा कार्यरत दुई नेपाली सैनिक विद्रोहीको आक्रमणमा परी घाइते भएका छन् । सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह माई माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाका २ जवान घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

जंगीअड्डाले घाइतेको परिचय खुलाएको छैन । तर, सैनिकस्रोतका अनुसार घाइते हुनेमा अमलदार रामहादुर कार्की र अर्जुनबहादुर भुजेल रहेका छन् । उनीहरुको कंगोको गोमास्थित राष्ट्रसंघको लेवल ३ अस्पतालमा उपचार भई रहेको र स्वास्थ्य स्थिति सामान्य रहेको सेनाले जनाएको छ ।

नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ । उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ थान र सो को एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेनालाई बुझाइएको छ ।

गण हेडक्वार्टर बेनीबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा झडप भएको हो । कंगोमा नेपाली सेनाको शम्शेरदल गणको २३ औं डफ्फा कार्यरत छ ।अाजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया