काठमाण्डाै । विभिन्न समयमा नेपालबाट अमेरिका पुर्याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन्।
ती मूर्ति कहाँ थिए र कसरी अमेरिका पुगे भन्ने विषयमा भने हाल कुनै जानकारी नभएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। ती मूर्ति कहिले कहाँबाट हराएका हुन् र हराएको विषयमा कुनै निवदेन परे नपरेको सम्बन्धमा अनुसन्धान अगाडि बढाइने पनि उनले बताए।
त्यस्तै मूर्ति सङ्ग्रह गरेर राख्ने व्यक्तिका बारेमा पनि थप जानकारी विभागसँग छैन । ती मूर्तिका सम्बन्धमा जोन म्याग २२५, वेस्ट ८६औँ स्ट्रिट काउन्सिलर एट ल न्युयोर्कबाट विभागमा गत मे ३० मा पत्र प्राप्त भएपछि फिर्ता ल्याउने प्रयास थालिएको थियो । कार्गो कम्पनी डीएचएल इनभ्वाइसले ती वस्तुको मूल्य १० हजार अमेरिकी डलर राखेकोमा अर्थ मन्त्रालयले उक्त मूल्य छुट गराएर मूर्ति फिर्ता ल्याइएको महानिर्देशक दाहालले बताए।
सन् ७० को दशकमा नेपाल युनेस्कोको सदस्यराष्ट्र भएपछि इलिसिट ट्रफिकिङ अभिसन्धिमा हस्ताक्षर गरेपछि अवैध रूपमा नेपालबाट बाहिरिएका ऐतिहासिक वस्तु फिर्ता गराउन सहज भएको विभागले जनाएको छ ।
यसअघि पनि विभागले नेपालबाट चोरी भएर बेलायत पुगेको हस्तलिखित ग्रन्थ मार्कण्डेय पुराण फिर्ता गरेको थियो । त्यस्तै बेलायतबाट नै १५ भन्दा बढी ऐतिहासिक वस्तुहरू, अस्ट्रियाबाट दुई वटा, अमेरिकाबाट चारवटा र डोल्पाबाट हराएर तिब्बत पुगेका केही बुद्धका मूर्ति नेपाल फर्काइएको बताइएको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।