Harhang९ मंसिर, काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका फरार अभियुक्त देउमान लिम्बु (हाराहाङ) को अपराधिक समूहमा संलग्न एक महिलालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ हाङदेवाकी दुर्गा लिम्बु छिन् ।
लिम्बूलाई विशेष सूचनाका आधारमा बुधबार बिहान धरानस्थित आफ्नै दिदीको घरबाट पक्राउ गरी ताप्लेजुङ ल्याइएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए । लिम्बूलाई बुधबारै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ल्याइएको छ ।गत कातिक १७ गते सो समूह र प्रहरीवीचको दोहोरो भिडन्तपछि भागेर धरानपुगी दिदीका घरमा बसेको सूचनाका आधारमा ताप्लेजुङबाट नै खटिएको महिला प्रहरीको टोलीले उनलाई पक्राउ गरेको कोइरालाले बताए ।

यसअघि सोही समुहमा संलग्न सान्थाक्रा निवासी ३३ वर्षीया  मनकुमारी चोङबाङ, खेजेनिम ३ निवासी १८ वर्षीय आकाश भनिने हर्क आङछङबो (लिम्बु), पथरी मोरङ घर बताउने ३५ वर्षीय कुमार लिम्बु र इटहरी ३ स्थित सुकुम्बासी टोलका अर्जुन भनिने शिव राना मगर पक्राउ परिसकेका छन् । खेजेनिम ३ का समिर लिम्बुको भने प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको थियो ।मुख्य अभियुक्त देउमान लिम्बु (हाराहाङ) भने अझै फरार छन् । ताप्लेजुङमा भूमिगत सशस्त्र समूह बनाई लुटपाटका घटनामा उनको समूह क्रियाशील रहँदै आएको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया