induction stoveकाठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण एलपी ग्यासको अभाव भएसँगै इण्डक्शन चुल्होको माग अत्यधिक बढेको छ । ६ महीनाअघिको तुलनामा यसको माग थेग्नै नसकिने गरी बढेको विद्युत् व्यवसायी सङ्घका संस्थापक अध्यक्ष गोविन्दप्रसाद कँडेलले बताए । ‘इन्धन अभाव हुनुअघि यो चुल्होका धेरैले वास्ता गरेका थिएनन्,’ उनले भने, ‘अहिले भने ब्राण्ड पनि नहेरी खरीद गर्नेको भीड छ ।’ अहिले इण्डक्शन कुकरको विक्री सयौं गुणा बढेको सीजी इम्पेक्स प्रालिका सहायक प्रबन्धक विशाल ज्ञवालीले बताए । ग्यास अभाव हुनुअघि मासिक १ सयओटा यस्ता चुल्होको विक्री हुने गथ्र्यो । तर, अहिले घण्टामै सयौं विक्री भइरहेको उनको भनाइ छ । उनका अनुसार पाँचजनाको परिवारले यो चुल्होको प्रयोग गर्दा मासिक करीब रू. १ हजारबराबरको बिजुली खपत हुन्छ ।

अहिले बजारमा बजाज, प्रेष्टिज, बाल्ट्रा, यासुडा, सूर्यमेट, इनेक्ष्ट, सीजीलगायत ब्राण्डका इण्डक्शन कुकर उपलब्ध छन् । कुकरको क्षमता तथा ब्राण्डअनुसार मूल्य भने ३ हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म रहेको सम्बन्धित व्यवसायी बताउँछन् । यस्ता चुल्होको १ हजार २ सयदेखि २ हजार वाटसम्मका छन् ।

भर्खरै लोकप्रियता पाउन थालेको यो चुल्होकोबारे धेरै मानिस अझै अनभिज्ञ छन् । किन्ने सोच बनाइरहेका ग्राहकका लागि यसका फाइदा, बेफाइदालगायत विषयमा यहाँ जानकारी दिइएको छ :

इण्डक्शन चुल्हो
इण्डक्शन ‘कुकटप्स’ले भाँडो र उपकरणबीच ‘इलेक्ट्रोम्याग्नेटिक रिएक्शन’ अर्थात् विद्युतीय र चुम्बकीय प्रतिक्रिया गराउँछ । यसो हुँदा स्टील वा ‘ढलोट फलाम’ (काष्ट आयरन)का भाँडा यसको चुम्बकीय सतहमा टाँसिन्छ । यो उपकरणले चुम्बकीय प्रतिक्रियाबाटै ताप उत्पन्न गर्छ ।

पारम्परिक विद्युतीय कुकटप्सले आफैमा ताप उत्पन्न गराउँछ । यही ताप भाँडोमा सर्छ । तर, इण्डक्शनले भने भाँडो नै तताउने गर्छ । यसले गर्दा उक्त भाँडामा खाना चाँडै पाक्नुका साथै सुरक्षित र किफायती पनि हुन्छ । तर, इण्डक्शन कुकटप्समा प्रयोग गरिने भाँडो स्टील वा ढलोट फलामका हुनु अनिवार्य छ । साथै, तिनमा समतल पिँध हुनु पनि आवश्यक छ । आफ्नो घरमा रहेका भाँडा यसका लागि उपयुक्त हुन्छ÷हुँदैन भन्ने जान्न उक्त भाँडोमा चुम्बक टाँसिन्छ कि टाँसिन्न हेर्न सकिन्छ । यदि चुम्बक टाँसिएमा तिनको प्रयोग गर्न सकिने सम्भावना धेरै हुन्छ ।

इण्डक्शन चुल्होका फाइदा
– ग्यासका तुलनामा इण्डक्शन चुल्होकोमा खाना धेरै छिटो पाक्छ । त्यसैले, यसको प्रयोगले खर्च र समयको बचत हुन्छ ।

– इण्डक्शन चुल्होकोको प्रयोग गर्दा समान ताप प्रवाह हुन्छ । यसकारण समान तापमा पकाउनुपर्ने विशेष परिकारका लागि यो उपकरण उपयुक्त हुन्छ ।

– विद्युतीय र चुम्बकीय प्रतिक्रियाबाट काम गर्ने भएकाले यसले अनावश्यक ताप फाल्दैन । यसले गर्दा भान्छामा गर्मी बढ्न पाउँदैन र तुलनात्मक रूपमा सुरक्षितसमेत हुन्छ ।

– भाँडो निकालिसकेपछि यो चुल्होको अनावश्यक रूपमा ‘अन’ रहने डर हुँदैन । किनभने, भाँडोसँग सम्पर्क नहुनेबित्तिकै यसले काम गर्दैन ।

– यसमा प्रयोग हुने समतल पिँध भएका भाँडा आकर्षक हुनुका साथै भान्छाको स्थानसमेत निकै कम ओगट्छ ।

बेफाइदा
– यसमा स्टेनलेस स्टील वा ढलोट फलामका भाँडोको मात्र प्रयोग गर्न सकिन्छ ।

– समतल पिँध भएका भाँडाको प्रयोग हुने भएकाले नयाँ भाँडो किन्ने बाध्यता हुन्छ । अन्य भाँडोमा पनि पकाउन सकिने सम्भावना भए पनि तिनमा पकाउँदा किफायती नहुन सक्छ ।

– फ्राइङ प्यानलगायतमा खाना पकाउँदा अतिरिक्त सावधानी अपनाउनुपर्ने हुन्छ । किनभने, चलाउँदा यसको सतहमा कोरिने सम्भावना हुन्छ । यसो भएमा उपकरणको कार्यक्षमतामा ह्रास आउन सक्छ ।

– खर्चका हिसाबले इण्डक्शन चुल्होको विद्युतीय वा ग्यास चुल्होकोका तुलनामा महँगो छ । (यद्यपि, ऊर्जा खपतमा कमी ल्याउने भएकाले यसले फाइदा नै हुने व्यवसायी बताउँछन् ।)

खरीद गर्नुपूर्व ध्यान दिनुपर्ने विषय
आकार/क्षेत्रफल
कुनै पनि उपकरण खरीद गर्नुपूर्व आफ्नो आवश्यकता मापन गरी आकारको छनोट गर्नु राम्रो हुन्छ । बजारमा ३० सेमीदेखि ९० सेमीका उपकरण उपलब्ध छन् । आकार/क्षेत्रफल चयन गर्दा आफ्नो भान्छामा उपलब्ध स्थानबारे निश्चित हुनुपर्छ । अन्यथा, उपलब्ध स्थानभन्दा धेरै सानो वा ठूलो हुने सम्भावना हुन्छ ।

कुकिङ जोनको सङ्ख्या
अधिकांश ६० सेमीका चुल्होकोमा चारओटा इण्डक्शन कुकिङ जोन हुन्छन् । साधारण परिवारका लागि यो पर्याप्त हुन्छ । कुनैमा कुकिङ जोन एक वा कम सङ्ख्यामा तर ठूला कुकटप भएका हुन्छन् । यस्ता उपकरणमा ठूला भाँडा वा प्यान सजिलै र सुरक्षित तरीकाले बसाल्न सकिन्छ ।  ठूला परिवार वा धेरै मात्रामा खाना पकाउनुपर्ने घर/होटलका लागि यो उपयुक्त हुन्छ ।

टच कण्ट्रोल्स
बजारमा उपलब्ध अधिकांश इण्डक्शन कुकटपमा टच कण्ट्रोल उपलब्ध छ । पुराना र सस्ता मोडलमा भने कण्ट्रोल नहुन सक्छ । टच स्क्रिनयुक्त उपकरणमा औंलाले छोएरै ताप घटबढ गर्न सकिन्छ । यसले गर्दा उपकरणको सफाइमा पनि सहज हुन्छ ।

अटोमेटिक प्यान साइज रिकण्डिशन
बजारमा उपलब्ध अधिकांश इण्डक्शन कुकरले स्वचालित रूपमै यसमा बसालिएका भाँडाको आकार र आयतनको पहिचान गर्छ । यही पहिचानका आधारमा कुकरले आवश्यक मात्रामा तापको प्रवाह गर्छ । कुकरको यही विशेषताकै कारण ऊर्जा उत्सर्जन किफायती मात्रामा हुन्छ ।

चाइल्ड लक
भान्छामा बच्चाको सुरक्षालाई समेत दृष्टिगत गरी बजारमा चाइल्ड लक सुविधा भएका केही मोडल पनि भित्रिएका छन् । यी उपकरणमा बच्चाले कण्ट्रोलरसँग खेलवाड गर्न नसकून् भन्ने सोचले विशेष व्यवस्था गरिएको हुन्छ ।

टाइमर
बजारमा स्वचालित टाइमरयुक्त इण्डक्शन कुकर पनि उपलब्ध छन् । तर, यस्तो सुविधा भएका चुल्होका भने केही महँगो रहेको व्यवसायी बताउँछन् । टाइमरले खाना पाकेपछि स्वचालित रूपमा चुल्होको बन्द हुने वा ताप कम फाल्ने सुविधा दिन्छ ।

बुष्ट
बजारमा उपलब्ध केही महँगा मोडलमा बुष्ट सुविधा पनि छ । यो फिचरले आवश्यकता परेका बेला कम समयमै पानी उमाल्नेलगायत काम गर्छ । केही उपकरणमा समय तोकेर त्यही समयमा पानी उमाल्न सकिने सुविधा पनि छ ।

स्वचालित सुरक्षा ‘शट अफ’
यो सुविधा पनि केही छानिएका महँगा मोडलमा मात्र उपलब्ध छ । यस्तो सुविधासहितको चुल्होकोले पानी उम्लिएको वा खाना पाकेको जानकारी प्राप्त गरी स्वचालित रूपमा उपकरण स्विचअफ गर्छ ।

म्यानुअलको अध्ययन
फरकफरक चुल्होकोमा पृथक् विशेषता पनि हुन्छन् । तसर्थ, आफूले खरीद गरेको उपकरण सम्बन्धित म्यानुअल अनिवार्य रूपमा पढ्ने गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया