smart-card-licence-430x316काठमाण्डौं । सरकारले मंसिर १५ देखि हस्तलिखित चालक अनुमति पत्र (लाइसेन्स) लाई विद्युतीय प्रविधिको स्मार्ट कार्डबाट विस्थापन गराउने भएको छ ।यातायात व्यवस्था विभागले गत साउनमै स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको थियो तर वैशाखको महाभूकम्पका कारण पछाडि धकेलिएको हो । उक्त नयाँ प्रविधिको लाइसेन्स सुरुमा काठमाडौं उपत्यकामा लागू हुने छ ।त्यसको दुई सातापछि अन्य १४ यातायात व्यवस्था कार्यालयबाट वितरण थालिने विभागले जनाएको छ । पुस पहिलो सातादेखि देशभर स्मार्ट कार्ड वितरण थालिने विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा एक लाख ६० हजार स्मार्ट कार्ड वितरण गरिने छ ।विभागका अनुसार हालसम्म २० लाखभन्दा बढी लाइसेन्स जारी भएका छन् । तीमध्ये करिब १५ लाख सक्रिय छन् । एसियाली विकास बैंकको १५ करोड रुपैयाँ सहयोगमा यातायात क्षेत्रमा नयाँ प्रणालीको विकास गर्न लागिएको हो । स्मार्ट कार्ड छपाइको जिम्मा भारतको मद्रास प्रिन्टर्सले पाएको छ । उक्त कम्पनीको नेपाल प्रतिनिधि भने लनर्स टेक प्रालि छ ।स्मार्ट कार्डको प्रक्रिया मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को जस्तै हुनेछ । हस्ताक्षरमा समेत डिजिटल प्रविधि नै अपनाइने भएको छ । सुरुमा चालक अनुमतिपत्रमा लागू हुने यो प्रविधि अर्को चरणमा सवारी दर्ता प्रणालीमा समेत कार्यान्वयनमा ल्याउने सरकारी तयारी छ ।

 

तपाईको प्रतिक्रिया