SSB-india-Nepal-border2
काठमाडौं, १५ मंसिर ।
हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई बिनाकारबाही फिर्ता गरेको भन्दै केचनाका बासिन्दाले स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।आइतबार बिहान ७ बजे झापाको दक्षिण सीमावर्ती गाविस केचनामा दसगजा छिचोलेर हतियारसहित एसएसबीका १३ जवान प्रवेश गरेका थिए। जिल्ला प्रशासन कार्यालय झापाले उनीहरूलाई आइतबार दिउँसो २ बजे एसएसबीका अधिकारीको जिम्मा लगाएको थियो ।हतियारसहित नेपाल छिरेपछि गाउँलेको ठूलो समूहले ‘भारतीय गुन्डागर्दी बन्द गर, हतियारसहित नेपाल आएका एसएसबीलाई कारबाही गर’ लगायत नारा लगाउँदै केचनामा प्रदर्शन गरेको थियो । सोही क्रममा स्थानीय बासिन्दा र एसएसबीका जवानबीच हात हालाहालसमेत भएको केचना ६ स्थित दीपेन्द्र प्राथमिक विद्यालयका शिक्षक पञ्चानन राजवंशीले बताएका छन् ।राजवंशीका अनुसार गाउँलेलगायत नेपाल-भारत सीमाका व्यापारीको ठूलो समूहले एसएसबीलाई कारबाही गर्न माग राखेको थियो। स्थानीय बासिन्दासँग हात हालाहालको स्थिति आएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले नेपाल छिरेका एसएसबीका जवानलाई उद्धार गरेर पोस्टमा राखेको गाउँलेले बताए।केचना ९ का कर्णबहादुर बिष्टका अनुसार सशस्त्र प्रहरीले एसएसबीका जवानलाई पक्राउ गरेको नभई गाउँलेसँग झडप हुने भएकाले उद्धार गरेको हो। बिष्टले हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बलका जवानलाई नेपालमा सम्मान दिएको देख्दा अचम्म लागेको बताए। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया