फाइल तस्विर
फाइल तस्विर

काठमाडौं , १६ मंसिर । प्रमुख प्रतिपक्षी दल कांग्रेसले मधेसी मोर्चाका ११ बुँदे मागमा सकारात्मक भएर छलफल गर्न सकिने निर्णय गरेको छ । तीन महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाले अघि सारेका ११ बुँदे मागबारे समीक्षा गर्दै निकासका लागि जायज बुँदामा छलफल गर्न सकिने मंगलबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो ।

‘सरकार, प्रतिपक्षी र आन्दोलनरत दलबीच भएको छलफलको समीक्षा र मधेसी मोर्चाको ११ बुँदे मागको विषयमा छलफल भएको छ,’ कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नयाँ पत्रिकासँग भने, ‘समस्याको समाधान हुनुपर्छ भन्ने निर्णय भएको छ । उनीहरूका मागमा पनि मुलुकको हित हुने गरी सकारात्मक रूपमा दृष्टिकोण राख्ने र समाधानका लागि पहल गरौँ भन्ने भयो । अब सधैँ समस्यालाई बल्झाएर राख्न हुँदैन । कहाँ कसरी कुन विकल्पमा जाने भन्नेमा अन्य दलसँग पनि छलफल गरी निर्णयमा पुग्छौँ ।’ तर, अहिले नै यो विकल्प भन्ने तय नभएको उनको भनाइ छ ।

११ बुँदे मागमा प्रदेशको सीमांकनसहित, नेपाललाई एकल नभई बहुराष्ट्रका रूपमा परिभाषित गर्नुपर्नेसहितका मागमा कांग्रेस सकारात्मक नभएको बुझिएको छ । तर, ११ बुँदेमा सरकारको ‘एप्रोच’ लाई हेरेर कुन विषयमा कति लचक हुने तय हुने जानकारी बडूले दिए । सरकारबाट समस्या समाधानका लागि आउने प्रस्तावपछि कसरी लचकता जनाउने भन्ने टुंगो लाग्ने उनको भनाइ छ । तर, राजनीतिक संयन्त्रबाट सीमांकन टुंग्याउने, संघीय आयोग बनाउने, विवादित जिल्लामा जनमतसंग्रह गर्नेसहितका विकल्प कांग्रेसमा चर्चामा छन् ।

नेता शेरबहादुर देउवा विवादित पाँच जिल्लामा जनमतसंग्रह गर्नुपर्ने पक्षमा छन् । उनी पश्चिममा कैलाली र कञ्चनपुरलाई पहाडबाट अलग गरी मधेस प्रदेशमा मात्र राख्न नहुने पक्षमा छन् । पूर्वमा झापा, मोरङ र सुनसरीलाई छुट्याउन नहुने पक्षमा महामन्त्री कृष्णप्रसाद सिटौला छन् । पूर्वका तीन जिल्ला छुट्याए अर्को आन्दोलनको सामना गर्नुपर्ने उनले बताउँदै आएका छन् ।

कांग्रेस प्रमुख दलको सहमतिमा अघि बढेको संविधान संशोधन विधेयकलाई अघि बढाउन सकिए मधेसमा भइरहेको आन्दोलन केही मत्थर हुने पक्षमा छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्तलाई सम्बोधन गरेर जाँदा मधेस शान्त हुने र राजनीतिक तहको छलफल, संयन्त्रबाट अन्य विषय टुंग्याउनुपर्नेमा कांग्रेसले जोड दिँदै आएको छ । तर, आन्दोलनरत मोर्चा र सरकार समर्थित मुख्य दलले प्याकेजमै समस्या समाधानका लागि जोड दिएपछि कांग्रेसले विकल्पमा छलफल गर्न सकिने गरी बुधबारको बैठकमा प्रस्तुत हुने निर्णय गरेको हो । पदाधिकारीसहित केही वरिष्ठ केन्द्रीय सदस्यसहितको बैठक कोइरालानिवास महाराजगन्जमा बसेको थियो । बिहीबार पनि पार्टीको शीर्ष तहमा त्यसपछि तीन दलबीच छलफल गरी बेलुका ६ बजे मोर्चासँग वार्ता गर्ने तयारी भएको बडूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया