गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।

मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव जीवनका लागि गणितको भूमिका महत्वपूर्ण छ । संसारका हरेक विषयका विषयक्षेत्रबाट गणितलाई झिकिदिने हो भने ती सबै अपूर्ण मात्र होइन, अर्थहीन नै भइदिन्छन् । गणित सवै विषयका लागि आवश्यक पर्ने विषय हो । यो विषय विना हामी व्याबहारिक गणितीय समस्याहरुको समाधान गर्न सक्दैनौँ । यसैले त नेपालको आधारभूत तथा माध्यमिक तहमा गणितको महत्वलाई बोध गर्दै अनिवार्य विषयको रुपमा यसलाई समावेश गरिएको हो ।

MATH-CLASSROOM

गणित विषयको यति ठूलो महत्व र आवश्यकता हुँदा हुँदै पनि यस विषयमा उत्तीर्र्ण गर्ने विद्यार्थीहरु अन्य विषयको तुलनामा कम पाईन्छ । गणितको महत्व र महिमा जति नै भए पनि यसलाई विद्यार्थीमाझ सहजै सजिलो महसुस गर्न र गराउन सकेको अवस्था छैन । गणितलाई सबैभन्दा कठिन विषयको रुपमा स्वीकारिएको दुर्भाग्यपूर्ण अवस्थाबाट हामी मुक्त छैनौं । यो विषयलाई अधिकांश विद्यार्थीहरुले एउटा ठूलो समस्याको रुपमा लिने गरेका छन् । अझ सामुदायिक विद्यालयका विद्यार्थीका लागि गणित विषय भूतको घर भएको छ, जसलाई उनीहरु सम्झन समेत चाहँदैनन् । उसोत गणित आफैमा असजिलो विषय भने होईन । गणितको धारणा बुझ्ने र निरन्तर अभ्यास गर्नेहरुले यो विषयलाई सजिलो मान्दछन् । उनीहरुले यस विषयमा धेरै अंक ल्याई पास भईरहेका हुन्छन् । तर अभ्यासको अभावमा यो विषयमा धेरै विद्यार्थीहरु अनुत्तीर्ण समेत हुने गर्दछन् । गणित विषयमा विद्यार्थीहरुमा देखिएको त्रासले गर्दा यो विषय अध्यापन गर्ने शिक्षक पनि निराश भएको विद्यमान अवस्था छ । उच्च माध्यमिक तह र विश्वविद्यालयहरुमा यो विषय अध्ययन गर्ने बिद्यार्थीहरुको त खडेरी पर्न थालिसकेको छ । अधिकांश विद्यार्थीहरुमा गणितप्रति वितृष्णा जागिरहेको पाइन्छ । नेपालको विद्यालय तहको अन्तिम परीक्षा मानिएको एसएलसी परीक्षाको केही बर्ष यताको नतिजालाई आधार मान्ने हो भने सबै भन्दा बढी विद्यार्थी गणित विषयमा नै फेल भएको पाइन्छ । बिद्यार्थीहरु यस विषयमा बढी असफल हुने बिभिन्न कारणहरु छन् । ती मध्ये प्रमुख कारणहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ । गणितमा विद्यार्थीहरु असफल हुनाका कारणहरु 

(१) जग कमजोर हुनु र पूर्व ज्ञानको कमी

गणित पूर्व धारणाहरुको प्रयोग गरी समस्याहरुको समाधान गर्ने विषय हो । कुनै पनि नयाँ विषयवस्तु सिक्नको लागि त्यससँग सम्बन्धित पूर्व ज्ञान हुनु आवश्यक हुन्छ । तर हाम्रा सामुदायिक विद्यालयहरुका तल्ला कक्षाहरुमा गणित विषयको प्रभावकारी शिक्षण सिकाइ हुन सकिरहेको छैन । गणित विषयको राम्रो ज्ञान नभएका शिक्षकहरुकै कमजोरीका कारण बिद्यार्थीहरुमा गणितीय धारणाहरुको विकास हुन नसकेको हो । गणितका आधारभूत धारणाहरु बिद्यार्थीहरुले राम्रोसँग बुझ्न नसक्दा विद्यार्थीहरुको धारणात्मक बोध कमजोर भएर गएकाले गणितीय उपलब्धि पनि कमजोर भएको देखिन्छ ।

(२) गणितप्रतिको भय

गणितप्रति सामुदायिक विद्यालयका विद्यार्थीहरु बढी भयभित देखिन्छन् । गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञान नै गणित सिकाइको सबैभन्दा संवेदनशील र अदृश्य चुनौति भएको छ । उनीहरुमा गणित सिक्न सकिन्छ भन्ने भावना र मनोबल उच्च नहुँदा चाहेर पनि गणितीय सिकाइले स्थायित्व पाउन सकेको छैन । विद्यार्थीहरुमा लुकेर रहेको गणितप्रतिको भय एवं त्रासलाई नहटाउँदा सम्म गणितीय सिकाइमा गुणस्तरीयता प्राप्त हुन सकेको छैन ।

(३) अभ्यासमा कमी

विद्यालय तहको पाठ्यक्रममा समाविष्ट विषयहरुमध्ये सबैभन्दा धेरै अभ्यासको जरुरत पर्ने विषय गणित नै हो । अभ्यासविना गणितमा दक्षता प्राप्त हुन सक्दैन । वर्तमान समयमा अधिकांश विद्यार्थीहरुमा अभ्यास गर्ने बानी हट्दै गैरहेको छ । अभ्यासको कमीका कारण गणितीय समस्या समाधानमा रुचिको जागरण हुन सकेको छैन । समस्यासँग परिचित हुने र समाधान गर्ने बानीको निर्माण हुन नसक्नुले गर्दा गणितीय समस्या बढी जटिल बन्ने गरेको पाइन्छ ।

(४) गणितलाई दैनिक जीवन र व्यवहारसँग जोड्न नसक्नु

गणितीय विषयवस्तु सिकाउँदा वर्तमान मानवीय जीवनमा आइरहेको प्रगोगको सन्दर्भबोध नहुँदा यसप्रति रुचिको जागरण हुन सकेको छैन । गणित किन पढ्ने र यसको प्रयोग कहाँ र कसरी हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई बुझाउन नसक्दा यो विषय खल्लो बन्न पुगेको छ । गणित सिकाइमा विद्यार्थीको दैनिक जीवन र व्यवहार समावेश नभएका कारण यसको प्रयोगमा रुचि देखिएको छैन ।

(५) सिकाइ अनुशासनको कमी

विद्यार्थीमा सिकाइ अनुशासनको खडेरी बढ्दै गएको छ । गणित सिकाइमा विद्यार्थीहरु मानसिक रुपमा उपस्थित हुन नसक्दा शिक्षकप्रति उनीहरु भावनात्मक रुपमा नजिकिए पनि सिकाइ केन्द्रित भएर नजिकिने अवस्था टाढिँदै गएको छ । पर्याप्त मात्राका कक्षा कार्यमा सहभागी नहुनु, गृहकार्य गर्ने बानीको विकास नहुनु पनि अर्को समस्याको रुपमा देखिएको छ ।

(६) शैक्षिक सामग्री निर्माण र प्रयोग नहुनु

प्रभावकारी शैक्षिक सामग्रीविना गणितीय विषयवस्तुको धारणालाई स्थापित गराउन सकिँदैन । गणितको गुणस्तरीय सिकाइको लागि शैक्षिक सामग्री अनिवार्य छ । अझ त्यसमा पनि ठोस शिक्षण सामग्रीहरुको प्रयोग यस विषयमा बढी प्रभावकारी हुन्छ । तर गणितका शिक्षकहरुमा शैक्षिक सामग्री बनाउने पर्याप्त ज्ञान र जाँगर नहुँदा गणित पढाइएको छ तर सिकाइएको छैन । गणित शिक्षणमा भैरहेको परम्परागत शिक्षण विधिको अभ्यासको कारण यस विषयमा धेरै बिद्यार्थीहरु असफल बनिरहेका छन् ।

(७) शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्न नसक्नु

आजको युगमा शिक्षण सिकाइमा सूचना र प्रविधिको प्रयोग अपरिहार्य भैसकेको छ । यसको प्रयोगले गणित शिक्षण सिकाइलाई सहज, सरल, रुचिपूर्ण र प्रभावकारी पनि बनाउँछ । तर हाम्रा अधिकांश सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिहरुको प्रयोग हुन सकिरहेको छैन ।

(८) योग्य र दक्ष गणित शिक्षकको कमी

हाम्रा सामुदायिक विद्यालयहरुमा अझै पनि गणित विषयका विषयगत शिक्षकहरुको व्यवस्था गर्न नसकिरहेको अवस्था छ । अन्य विषयका शिक्षकहरुले गणित शिक्षण गर्दा केबल काम चलाउ शिक्षण मात्र भइरहेको छ । जसका कारण बिद्यार्थीहरुमा गणितको बलियो धारणा बस्न सकेको छैन । कम योग्यता भएका र फरक विषयका शिक्षकले गर्ने शिक्षण प्रभावकारी नभएको कारणले गर्दा पनि समस्या उत्पन्न भएको पाइन्छ ।

(९) कक्षा कोठामा तालिमको प्रयोग हुन नसक्नु

विद्यालय तहमा संख्यात्मक रुपमा पर्याप्त तालिम प्राप्त शिक्षकहरु भएको भनिए तापनि शिक्षकले लिएका तालिमहरुको कक्षाकोठामा प्रयोग हुन सकिरहेको छैन । शिक्षण सिकाइका नविनतम विधि, प्रविधि र मूल्यांकनका साधनहरुको उचित प्रयोग हुन नसक्दा बिद्यार्थीहरु यस विषयमा असफल हुने क्रम घटेको छैन ।

(१०) उपचारात्मक शिक्षण सिकाइको अभाव

गणित विषयमा कमजोर ठानिएका बिद्यार्थीहरुलाई निरन्तर अभ्यास र उपचारात्मक शिक्षणको आवश्यकता पर्दछ । त्यसको लागि निरन्तर मूल्यांकन, अतिरिक्त समयको अभ्यास, पृष्ठपोषण र निरन्तर पुनर्वल प्रदान गर्दै जानु पर्ने हुन्छ । तर अधिकांश सामुदायिक विद्यालयहरुमा यस्ता कार्यहरु हुन सकिरहेका छैनन् ।

(११) अभिभावकको कमजोर भूमिका

सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरुकै गणित प्रतिको धारणा कमजोर पाइन्छ । बिद्यार्थीले घर परिवारका सदस्य र छिमेकीहरुबाट अरु विषयको सिकाइमा जति सहयोग प्राप्त गर्छ त्यति गणित विषयमा प्राप्त गर्न सक्दैन । घरायसी वातावण गणित सिकाइको लागि अनुकुल नभइदिंदा पनि बालबालिकाहरुको गणितको जग सुदृढ हुन सकिरहेको छैन ।

 

समाधानका उपायहरु

(१) गणितको जग बलियो बनाउने

जग बलियो भयो भने घर बलियो हुन्छ भने जस्तै पूर्व प्राथमिक तह देखि नै जबसम्म गणितीय ज्ञान र सीपहरुको धारणलाई स्पष्ट र मूर्त बनाउन सकिदैन तवसम्म गणित विषयमा देखिएको कमजोरी कायमै रहन्छ । तसर्थ गणितको बलियो जगका लागि साना कक्षाहरुमा योग्य, दक्ष, तालिमप्राप्त र क्षमतावान शिक्षकहरुको व्यवस्था गर्नु पर्दछ । शुरुका कक्षाहरुबाटै गणित विषयको प्रभावकारी शिक्षण सिकाइ गर्न गणित विषयका विषयगत शिक्षकहरुकै व्यवस्था गर्नु आवश्यक छ । गणित विषयको राम्रो ज्ञान भएका शिक्षकहरुबाट बिद्यार्थीहरुमा गणितीय धारणाहरुको विकास गराई गणितमा रमाउने वातावरणको सिर्जना गराउनु पर्दछ ।

(२) गणितप्रतिको त्रास हटाउने

गणितप्रति सामुदायिक विद्यालयका विद्यार्थीहरुमा देखएको त्रासलाई कम गर्न शिक्षणका परम्परागत विधिहरुको प्रयोगलाई हटाई रोचक, नविनतम विधि एवं प्रविधिहरुको प्रयोगमा जोड दिनु पर्दछ । गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञानलाई हटाउनको लागि मनोवैज्ञानिक उपचारात्मक शिक्षण विधि अबलम्बन गर्नु आवश्यक हुन्छ । विद्यार्थीहरुमा गणित प्रतिको आत्मबलमा बृद्धि गर्दै आत्मविश्वास बढाउने खालका क्रियाकलापहरुमा जोड दिनु पर्दछ ।

(३) योजनाबद्ध र चरणबद्ध शिक्षण सिकाइ

कुनै पनि गणितीय विषयबस्तु सिकाउनु भन्दा अगाडि शिक्षक र बिद्यार्थीहरुले पर्याप्त मात्रामा पूर्व तयारी गर्नु पर्दछ । यस्तो तयारीले सिकारुलाई सिकाइप्रति प्रेरित गर्दछ भने सिक्नको लागि मानसिक रुपले तयार पनि बनाउँछ । उखान नै छ ूध्भिि दभनगल ष्क जबाि मयलभू अर्थात राम्रोसँग शुरुआत गर्नु आधा काम गरे जत्तिकै हो । गणित शिक्षणका धेरै बिधि र उपागमहरु छन् । ती मध्ये शिक्षकले आवश्यकता अनुसार हरेक समस्या समाधान गर्दा कुनै एउटा वा बढी भन्दा बढी बिधिहरुको प्रयोगको योजना बनाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सक्छ ।

गणितीय समस्याहरु समाधान गर्दा समस्याहरुलाई ससाना इकाइहरुमा विभाजन गरी सिकाउनु पर्दछ । प्रत्येक साना इकाइहरुलाई चरणबद्ध रुपमा हल गर्ने बानीले बिद्यार्थीहरुले उक्त समस्या बुझ्न र सजिलै समाधान गर्न सघाउँछ । समस्या समाधान गर्दा बिद्यार्थीलाई कहाँनेर जटिलता भएको छ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । गणित सिकाइ सिंढी चढे जस्तै हो, एउटा खुट्किलो चढ्न नसक्दा पुरै यात्रा नै बिथोलिन सक्छ । तसर्थ हरेक चरणको उत्तिकै ख्याल गरेर अगाडि बढ्ने वातावरणको सिर्जना गर्नु पर्दछ ।

(४) निरन्तर अभ्यासमा बृद्धि

निरन्तर अभ्यासले नै अपेक्षित नतिजा हासिल गर्नको लागि महत्वपूूर्ण भूमिका खेल्दछ । गणित शिक्षणमा असल अभ्यास पनि एउटा शिक्षण कौशल हो । अभ्यासले गणितीय धारणाहरुलाई बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दछ । सबैभन्दा धेरै अभ्यासको जरुरत पर्ने विषय गणित भएकोले गणित सिकाइका लगि पर्याप्त पुनर्वलीय अभ्यासको लागि अवसरको सिर्जना गर्नु पर्दछ ।

(५) गणितलाई दैनिक जीवन र व्यवहारसँग जोड्ने

गणितीय धारणाहरुलाई दैनिक जीवन र व्यवहारहरुसँग जोडेर शिक्षण सिकाइ प्रक्रियालाई अगाडि बढाउँदा बिद्यार्थीहरुले आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुलाई सजिलै समाधान गर्न सक्छन् । बिद्यार्थीहरुले सिकेका गणितीय ज्ञान, सीप र धारणाहरु कसरी उनीहरुको जीवनमा प्रयोग हुन्छन् भन्ने कुराको बोध शिक्षकले गराउन सक्नु पर्दछ । यसले गर्दा उनीहरुमा विषयप्रतिको रुचिमा बृद्धि हुन्छ । तसर्थ गणित सिकाइमा विद्यार्थीको दैनिक जीवन र व्यवहार समावेश गरिनु आवश्यक हुन्छ ।

(६) शिक्षण सिकाइमा रमाइलो वातावरणको सिर्जना

बिद्यार्थीहरुलाई गणित विषयमा सफल गराउनको लागि शिक्षक स्वयं बिद्यार्थी मैत्री, सहयोगी र रमाइलो वातावरण सिर्जना गर्ने खालको बन्नु पर्दछ । विद्यार्थीहरुले जति बढी सिकाइको लागि आनन्ददायी वातावरण प्राप्त गर्दछन् त्यति नै सिकाइ प्रभावकारी बन्दछ । त्यसकारण गणित कक्षालाई भययुक्त नबनाई रमाइलो र रुचिपूर्ण बनाउनु पर्दछ । बिद्यार्थीहरुले तनाव सिर्जना गर्ने शिक्षक नभई कक्षा क्रियाकलापहरुलाई चाखलाग्दो र आनन्ददायी बनाउने शिक्षकको कक्षामा बढी सक्रियता देखाउने गर्दछन् । शिक्षकको यस्तो भूमिकाले गर्दा विद्यार्थीहरु पर्याप्त मात्रामा कक्षा कार्यमा सहभागी हुन्छन्, र गृहकार्य गर्ने बानीको पनि विकास हुन्छ ।

(७) पर्याप्त शैक्षिक सामग्रीको निर्माण र प्रयोग

प्रभावकारी शैक्षिक सामग्रीविनाको शिक्षण गणित विषयको लागि अभिसाप नै बन्ने गर्दछ । अझ त्यसमा पनि ठोस शिक्षण सामग्रीहरुको प्रयोग यो विषयको लागि अपरिहार्य हुन्छ । बिद्यार्थीहरुलाई सिकाइप्रति प्रेरित गर्न र उनीहरुमा रुचि जगाउनुका साथै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन एउटा गणित शिक्षकले पर्याप्त मात्रामा शैक्षिक सामग्री र शैक्षणिक स्रोतहरुको प्रयोग गर्नु पर्दछ । बिद्यार्थीहरुमा गणितीय धारणाहरु बसाल्नको लागि यस्ता सामग्री र स्रोतहरुको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षण सिकाइको लागि आवश्यक पर्ने सामग्रीहरुको प्रबन्ध स्वयं बिद्यार्थीहरुबाट गर्न लगाउन सक्ने हो भने अझ उनीहरुमा विषयबस्तु प्रतिको रुचि बढेर जान्छ ।

(८) शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग

गणित विषयको शिक्षण सिकाइमा सूचना र प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्दछ । यसको प्रयोगले शिक्षण सिकाइलाई सहज, सरल, रुचिपूर्ण र प्रभावकारी पनि बनाउँछ । अहिले इन्टरनेटमा यो विषयसँग सम्बन्धित धेरै सामग्रीहरु प्राप्त गर्न सकिन्छ । विश्वमा विकास भइरहेका अत्यन्तै सरल र रोचक विधिबाट गणितीय समस्याहरुको हल गर्ने विधिहरुको जानकारी अनलाइन, युट्युबहरुबाट हासिल गर्न सकिन्छ ।

(९) योग्य र दक्ष गणित शिक्षकको व्यवस्था

सामुदायिक विद्यालयहरुमा गणित विषयका विषयगत शिक्षकहरुको व्यवस्था गर्न नसक्दा शिक्षण सिकाइ प्रभावकारी र अर्थपूर्ण हुन सकिरहेको छैन । धेरै बिद्यार्थी यो विषयमा असफल हुनुको प्रमुख कारण शिक्षकहरुको असफलता पनि हो । बिभिन्न विषयका शिक्षकहरुले गणित शिक्षण गर्दा यो विषयको विषयबस्तु जटिल बन्न पुगेको हो । तसर्थ गणित विषय शिक्षणका लागि सम्बन्धित विषयकै पर्याप्त योग्यता र तालिम भएको शिक्षकहरुको व्यवस्था गर्नु पर्दछ ।

(१०) कक्षा कोठामा तालिमको प्रयोग

शिक्षकको पेसागत विकासका लागि भैरहेका तालिमहरुको कक्षाकोठामा उपयोग गर्न सकेमात्र पनि यो विषयको शिक्षण सिकाइमा सुधार आउन सक्ने देखिन्छ । तालिमलाई कक्षाकोठाभित्र लैजाने संयन्त्रको विकास गर्नु आजको आवश्यकता हो । सेवापूर्व वा सेवाकालिन तालिमहरुको प्रभावकारीतामा बृद्धि गरी शिक्षण सिकाइका नविनतम विधि, प्रविधि र मूल्यांकनका साधनहरुको उचित प्रयोग गर्ने तर्फ जोड दिन सके बिद्यार्थीहरु असफल हुने क्रम घटेर जान सक्छ ।

(११) उपचारात्मक शिक्षण

गणित विषयमा कमजोर ठानिएका बिद्यार्थीहरुलाई निरन्तर अभ्यास र उपचारात्मक शिक्षणको आवश्यकता पर्दछ । त्यसको लागि निरन्तर मूल्यांकन, अतिरिक्त समयको अभ्यास, पृष्ठपोषण र निरन्तर पुनर्वल प्रदान गर्दै जानु पर्ने हुन्छ । यस विषयमा कमजोर ठानिएका वा फरक क्षमता भएका बिद्यार्थीहरुलाई विशेष किसिमको विद्यार्थी सहायता प्रणालीको विकास गरी आधारभूत ज्ञान, सीपहरु प्रदान गरी सबलीकरण गर्दै लैजानु पर्दछ ।

(१२) घोक्ने र कण्ठ गर्ने प्रवृत्तिलाई निरुत्साहन

अझै पनि कतिपय ज्यामितीय साध्यहरु, सुत्रहरु, समस्या समाधानका तरिकाहरु घोक्ने र कण्ठ गर्ने प्रचलन विद्यमान छ । यसले गर्दा गणित विषयलाई झन जटिल बनाइरहेको छ । गणित शिक्षकले बिद्यार्थीहरुलाई गणितीय नियमहरु कसरी बनेका छन् , कसरी प्रमाणित गर्ने भन्ने प्रक्रियाहरुका बारेमा अभ्यस्त गराउनु पर्दछ । नियमहरु सम्झने भन्दा पनि पत्ता लगाउने कार्यमा लगाउनु पर्दछ ।

(१३) अभिभावकको भूमिकामा बृद्धि

सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरुकै गणित प्रतिको धारणा कमजोर भएको कारणले बिद्यार्थीहरुमा त्यसको असर परिरहेको छ । गणित विषय कठिन छ भन्ने मनोविज्ञानलाई हटाउँदै गणितको महत्व, यसको दैनिक जीवनमा हुने प्रयोग र आवश्यकताको बोध गराउनु पर्दछ । गणित मानब जीवन व्यवहारको अभिन्न अंग हो भन्ने सन्देश अभिभावमा पर्याउनु जरुरि देखिन्छ । यसको साथै घरायसी वातावण गणित सिकाइको लागि अनुकुल बनाउन अभिभावकको भूमिकामा बृद्धि गर्ने तर्फ पनि ध्यान पुर्याउनु पर्दछ ।

निष्कर्षमा भन्नुपर्दा गणितमा अधिकांश बिद्यार्थीहरु असफल हुनुका धेरै कारणहरु भएता पनि यसको मुख्य जिम्मेवार पक्ष भनेको शिक्षक नै हो । एउटा योग्य, दक्ष, प्रतिबद्ध र समर्पित शिक्षकले गणितको नराम्रो इतिहासलाई सुनौलो बनाइ सुन्दर भविष्यतिर मोड्न सक्छ । आजको गणित शिक्षकले गणितप्रति देखिएको वितृष्णालाई हटाई बिद्यार्थीहरुमा गणितको महत्व, यसको सुन्दरता, दैनिक जीवन र व्यवहारमा यसको प्रयोग जस्ता कुराहरुको बोध गराई गणितलाई एउटा उपयोगी, रुचिपूर्ण र जीवनको अभिन्न अंगको रुपमा विकास गराउने तर्फ भूमिका खेल्न सक्नु पर्दछ ।

(लेखक श्री जननेत्र उमावि देउपुर, पर्वतमा विगत १० बर्ष देखि माध्यमिक तहमा गणित विषय अध्यापनरत छन् ।)

साभार : साझासवाल

तपाईको प्रतिक्रिया