students bbc

आन्दोलनका कारण पठनपाठन ठप्प भएका तराईका कतिपय जिल्लामा एफएम रेडियो तथा टेलिभिजनमार्फत विद्यार्थीलाई पढाउने तयारी थालिएको शिक्षा मन्त्रालयले जनाएको छ।महिनौंदेखि जारी आन्दोलनका कारण तराई भेगका विद्यालय सञ्चालन अस्तव्यस्त भएपछि सरकारले श्रव्य-दृश्य माध्यमबाट पठनपाठन गर्ने योजना अघि सारेको हो।तर आवश्यक सामग्री उत्पादन भईनसक्दा र बजेटको जोहो बाँकी रहेकाले सो कार्यक्रम कहिलेदेखि शुरु हुने प्रष्ट भइसकेको छैन।

वर्षमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने र कम्तीमा १ सय ९० दिन पढाई हुनुपर्ने नियम भएपनि तराईमा तीन महिनादेखि जारी आन्दोलनका कारण त्यो सम्भव देखिएको छैन।यसका कारण तराईका कतिपय जिल्लाहरुमा यो वर्ष पढाईको नियमित पढाई पूरा हुने नदेखिएपछि शिक्षा मन्त्रालयले एफएम रेडियो र टेलिभिजनमार्फत भएपनि पढाउने योजना ल्याएको हो।

सामाग्री

तर उक्त प्रणालीद्वारा पढाउन आवश्यक सामाग्री बनाउन समय लागिरहेकाले कहिलेदेखि यो प्रक्रिया लागू गर्ने भनी तय गर्न नसकेको शिक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन्।मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, “सामग्रीहरु हामीसँग केही छन्, अहिले तिनै सामग्रीहरुका कति परिमार्जन गर्नुपर्छ र त्यसलाई प्रसारणको ढांचामा ढाल्नुपर्छ भन्ने एउटा कुरा रेडियो एफएमको रह्यो।“टेलिभिजनको विषयमा त अलि समय लाग्न सक्छ।”त्यस्तो पढाई तराईका मुख्य ८ जिल्लाका विद्यालयहरुमा केन्द्रित हुने र सम्बन्धित जिल्ला शिक्षा अधिकारीको सल्लाह अनुसार निश्चित स्थानमा प्रसारण गर्ने मन्त्रालयको योजना छ।

बजेट

तर उक्त प्रक्रिया लागू गर्न थुप्रै बजेट लाग्ने र त्यसको जोहो गर्न शिक्षा मन्त्रालयले प्रयास गरिरहेको बताइएको छ।प्रवक्ता लम्सालले भने, “पहिलो प्राथमिकता हामीसँग भएको बजेट कार्यक्रममा मिडिया मोभलाइजेसन भन्ने शीर्षक छ भने त्यसबाट प्रयोग गर्ने हो, आन्तरिक समायोजन दोस्रो विकल्पको रुपमा रहनेछ, तेस्रो विकल्प भनेको थप स्रोत खोजी गर्ने हो।”आन्दोलन र बन्दले गर्दा तराईका लाखौं विद्यार्थीहरुको पढाईमा असर परेको छ।थुप्रै आलोचना भएपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विहानीको समयमा विद्यालय खोल्न दिने बताएपछि कतिपय विद्यालयहरु खुलेपनि चिसो मौसम र आन्दोलनको अनिश्चितताका कारण पढाई राम्ररी सञ्चालन हुन नसकेको बताइएको छ।बिबिसिबाट

तपाईको प्रतिक्रिया