Gopal-Khadka-Oil-Nigam१९ मंसिर काठमाडाैं । आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न निगम संचालक समितिले सरकारलाई सिफारिस गरेको छ । निगम संचालक समितिको शुक्रबार बसेको बैठकले खड्काले पेश गरेको स्पष्टिकरण सन्तोषजनक नभको भन्दै थप कारबाही अगाडि बढाउन बाणिज्य तथा आपुर्ति मन्त्रालयलाई सिफारिस गरेको हो ।

समितिका एक सदस्यका अनुसार आवश्यक कारबाहीका लागि तालुक मन्त्रालयलाई लेखि पठाइएको छ । ‘खड्कालाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो,’ उनले भने, ‘कारबाही पनि मन्त्रीपरिषदले नै गर्नुपर्ने भएकाले सिफारिस गरिएको हो ।’ तत्कालीन आपुर्तिमन्त्री सुनिल थापाको प्रस्तावमा उनलाई मन्त्रीपरिषदले ४ बर्षका लागि नियुक्त गरेको थियो । मन्त्रीपरिषदले गरेको निर्णय संचालक समितिले उल्ट्यादा मुद्दा मामिला हुने भएकाले परिषदलाई नै सिफारिस गरिएको ती सदस्यले बताए ।

पूर्वमन्त्री थापाले तत्कालीन प्रमुख चण्डिका भट्टलाई हटाएर खड्कालाई ल्याएका थिए । सडक विभागको इन्जिनियरका रुपमा कार्यरत खड्कालाई निगम ल्याउन थापाले निक्कै कसरत गरेका थिए । भारतीय नाकाबन्दीले इन्धनको अभाव चुलिदै गएपछि खड्काले वितरण प्रक्रिया प्रभावकारी नबनाएको, इन्धन आयातका लागि निजी कम्पनीलाई अनुमति दिँदा पक्षपात गरेको, चीनबाट इन्धन ल्याउन तदारुकता नदेखाएको लगायतका आरोपमा निगम संचालक समितिले स्पष्टिकरण मागेको थियो । उनलाई गत ११ गते स्पष्टीकरण सोधिएको हो । खड्काले १४ गते स्पष्टीकरणको उत्तर पेश गरेका थिए । ‘६ वटा बुदामा उनलाई स्पष्टीकरण सोधिएको हो,’ समितिका अर्का सदस्यले भने, ‘तर, चित्त बुझ्दो जबाफ आएन ।’

मुख्यगरि इन्धन वितरणमा न्यायोचित नभएको र कालोबजारीलाई प्रोत्साहन मिल्ने गतिविधि गरेको विषय खड्कालाई लगाइएका मुख्य आरोप हुन् । सञ्चालक समितिका ती सदस्यका अनुसार विभिन्न पेट्रोलपम्ममा डिभाईस राखी रिमोटबाट घटी तेल बिक्रि वितरणमा सघाउ पुर्‍याउदै संस्थागत रुपमा उपभोत्तालाई ठगी गरेको आरोप खड्का माथि छ । त्यस्तै उपलब्ध इन्धन न्यायोचित रुपमा वितरण नगरि ना ४ ख ७१५४ नम्बरको सवारीसाधनबाट विना कागजात पहुँचका भरमा विभिन्न व्यक्ति तथा निकायलाई इन्धन उपलब्ध गराएको अर्को अरोप छ । कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया