२६ पौष, काठमाडौ। प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि सर्वोच्च अदालतले झिकाउन आदेश दिएको छ ।अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए । उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखेपछि सर्वोच्चले झिकाएको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधवार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौँ जिल्ला अदालतबाट लिएको दुवै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरू झिकाउन आदेश दिएको हो ।साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्बहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन भनिएको आदेशमा उल्लेख छ ।

अदालतमा डा केसीको भनाइ

अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइको अन्तिम क्षणमा डा केसीले आफूलाई सजाय हुन्छ भन्नेमा कुनै डर नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सजाय हुन्छ भन्ने मलाई डर छैन, मलाई दया देखाएर मुद्दा खारेज गर्नु पर्दैन ।” उहाँले आफ्नो न्यायको लडाइँ जारी रहने उल्लेख गर्दै थप्नुभयो, “प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म मेरो संघर्ष जारी रहन्छ ।”अदालतबाट रिहा भएको आदेश आएपछि उहाँले पत्रकारलाई न्यायालय सुधारको आफ्नो आन्दोलन जारी रहेको र न्याय नपाएसम्म र प्रधानन्यायाधीशको राजीनामा नआएसम्म अनशन जारी रहने दृढता प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया