Rajya-Sava-India

२१ मंसिर, काठमाडौं ।भारतको राज्यसभामा नेपाल-भारत सम्वन्धबारे भएको छलफलमा सांसदहरुले नेपाल र भारतको वर्षौं पुरानो सम्वन्ध विगारेको र अहिलेसम्मकै खराब अवस्थामा पुगेको बताए ।नेपालमा गम्भीर मानवीय संकट आएको भन्दै तत्काल समाधान खोज्नु पर्ने सांसदहरुले बताए ।

सांसद मणिशंकर अयैयर भारतले नभई मोदी सरकारले नेपालमाथि नाकाबन्दी गरेको भन्दै आलोचना गरे । मधेसका ११ सभासदले मात्र संविधानको विपक्षमा मतदान गरेका र मधेसी मोर्चाका नेताहरु चुनाव हारेकाहरु भएको भन्दै उनले मधेसको प्रतिनिधित्व कसले गर्छ भन्ने प्रश्न उठाए ।उनले भने-सात वर्ष लगाएर नेपालमा राष्ट्रिय सहमति बनेको छ, त्यसलाई हामीले अवमूल्यन गर्ने ? हामीले हाम्रो संविधान ११२ पटक संशोधन गर्‍यौं, हामीले नेपाललाई किन विश्वास नगर्ने ? हामी को हौं कि यो गर, आजै हुनुपर्छ भन्ने ?

विदेशमन्त्री सुष्मा स्वराजको नाम लिँदै उनले भने-‘यो तपाईको विदेश नीति हो भन्ने विश्वास नै लाग्दैन । को जिम्मेवार छ यस्तो व्यवहारका लागि । चुप्पी तोडो ।’

उनले भने-‘एक र आधा मात्र अवरोध छ । अरुबाट किन नपठाउने ? हामीले नेपाल जाने अर्को बाटो भेट्टाउन सकेनौं ? एयर लिफ्ट गर्न सक्दैनौं ?’नेपालसँगको सम्वन्ध सुधारका लागि व्यक्तिगत सम्वन्धलाई प्रयोग पर्ने भन्दै उनले करण सिंहको सहयोग लिन सुझाए । नभए प्राविधिक टीम पठाएर कसरी नाका खोल्ने, एयर लिफ्ट गर्ने भनेर अध्ययन गर्नु पर्ने उनले बताए ।

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका टीके रंगराजनले नेपाल सार्वभौममुलुक भएको भन्दै हस्तक्षेप नगर्न चेतावनी दिए । संविधान जारी हुँदा भारतमा पनि समस्या भएको थियो भन्दै उनले भने यदि नेपालमा समस्या छ भने उनीहरुले समाधान गर्छन् । कसरी तपाई हस्तक्षेप गर्नुहुन्छ ? नेपाल सार्वभौममुलुक हो, हस्तक्षेप गर्ने हाम्रो काम होइन ।’

जनता दल यूनाइटेड सांसद पवनकुमार बर्माले भारत सरकारको कूटनीति असफल भएको बताए । भुटानका लागि पूर्व राजदूत समेत रहेका बर्माले भने-‘नेपालमा संविधान पास भएपछि र घोषणा हुन मात्र बाँकी हुँदा मात्र किन दूतको भ्रमण गराइयो ? हामीले फेरि यस्तो गल्ती गर्नु हुँदैन ।’

उनले भारतले अन्तराष्ट्रिय मञ्चहरुमा नेपालको ओलाचना गरेकोमा समेत असन्तुष्टि जनाएका छन् । दुई देशको सम्वन्धमा तेस्रो पक्षको मध्यस्थता नचाहिने भन्दै उनले भने-हामी सार्वभौम देशसँग काम गरिरहेका छौं । ठूल्दाईका रुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन ।’

कांग्रेस आइका वरिष्ठ नेता करण सिंहले नेपाल सार्वभौम मुलुक भएको भन्दै संविधानसभाबाट संविधान घोषणाको अन्तिम समयमा गएर नगर भन्नु गैरकूटनीतिक भएको बताए । भारत सरकारका एजेन्सीहरु कहाँ छन् ? भन्दै उनले भने-संविधानसभाबाट संविधान पास भइसकेको अवस्थामा नेपाल पठाउँदा के सन्देश जान्छ ?’

भारतीय सेनामा ५० हजार गौर्खा रहेको र भारतमा ६० लाख नेपाली भारतमा रहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा देखिएको संकट तत्काल हल गर्न सहयोग गर्न सुझाव दिएका छन् । ‘म सरकारलाई आग्रह गर्छु, यो उनीहरुको समस्या हो । हामीले समाधान गर्ने होइन, सहयोग गर्ने हो’ उनले भने-‘नेपालका सबै पक्षलाई आग्रह छ लचिलो हुनुस् ।’

बिहारका मुख्यमन्त्री नितिसकुमारको दल जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले नेपालको समस्या आन्तरिक भएको बताए । नेपालसँगको सम्वन्ध अन्य देशसँग भन्दा फरक भएको भन्दै उनले भने-नेपालको सरकार र मधेसी जनताका बीचमा तत्काल वार्ता हुनुपर्छ । जे मतभेद छ, उनीहरुको आन्तरिक विषय हो र उनीहरुले समाधान गर्नुपर्छ ।’

समस्या समाधानमा भारतले सहयोग गर्नु पर्ने तर, ठूलो दाइको व्यवहार गर्न नहुने उनले बताए । नेपालमा मानवीय संकट आएको भन्दै उनले तत्काल पहल गर्न र समय खेर नफाल्न स्वराजलाई आग्रह गरे ।

सांसद रवी बर्माले भारतको कूटनीति असफल भएको बताए । उनले भने-नेपालका ३० लाख बालबालिका मृत्युसम्मको जोखिममा रहेको भन्दै यसको दोष कहाँ जान्छ ? हाम्रो कूटनीति असफल भयो ।’

भिडियोको लागि तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया