४ माघ, इटहरी। सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिशामुक्त घोषणा अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीहरुले आज सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका ७ नरसिँहका २५ जनालाई खुल्ला स्थानमा दिशापिसाव गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिईएको छ।

जिल्ला खुल्ला दिशामुक्त अभियान जीएसफ फण्ड अन्तर्गत युएन ह्याविट्याटको सक्रियतामा कार्यक्रम गरिदै आएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको मिशन ओडिएफ टोली खुल्ला दिशामुक्त कार्यक्रमलाई सघाउँदै आएको नारी विकास सङ्घ संस्था शसस्त्र र जनपथ प्रहरी एवम स्थानीय सरसफाई तथा स्वच्छता समन्वय समितिको टोलीले ती मानिसलाई खुला स्थानमा दिशा पिसाव गरिरहेको अवस्थामा फेला पारेर विहानै पक्राउ गरेको अभियानकर्मी ललिता लम्सालले जानकारी दिनुभयो ।

जिल्ला सरसफाई अभियानसँगै लामो समयदेखि मिशन ओडिएफ अभियानमा सक्रिय डिभिजन कार्यालयको अभियानकर्मीहरु ललिता लम्साल सुजाता शाक्य तारा कार्की मनु सिलवाल नारी विकास सङ्घकी अभियानकर्मी सरिता खनाल तथा शसस्त्र र जनपथ प्रहरी एवम स्थानीय सरसफाई समितिका पदाधिकारीहरुले ती मानिसलाई आज विहान नियन्त्रणमा लिएका हुन । प्रहरी सहितको मिशन ओडिएफ टोलीको नियन्त्रणमा रहेका ती सवै स्थानीयवासीलाई खुला स्थानमा दिशा पिसाव गर्नाले पुग्ने हानी तथा समाजमा पुग्न प्रतिकुल असरका विषयमा सम्झाई तत्काल चर्पी निर्माण गरेर त्यही स्थानमा दिशा पिसाव गर्नाले आफु परिवार र समुदायमा पुग्ने फाईदा आदिका विषयमा ज्ञान दिएर चर्पी बनाउने प्रतिवद्धता गराएर छाडिएको मिशन ओडिएफ अभियानकर्मी लम्सालले जानकारी दिनुभयो ।

सुनसरी जिल्लाको अधिकाङ्श गाउँ तथा नगरमा चर्पी निर्माण गरेर प्रयोगमा ल्याई सकिएको तथा पछिल्लो समयमा भोक्राहा गाउँपालिकाको नरसिँह कोशी गाउँपालिकाको श्रीपुर गढी गाउँपालिकाको छिटाहा इनरुवा नगरपालिकाको डुम्राहा र बराह नगरपालिकाको महेन्द्रनगर खुल्ला दिशामुक्त हुन बाँकी रहेकाले ती सवै गाउँलाई पनि चाँडै खुला दिशामुक्त घोषित गर्न मिशन ओडिएफ अभियान चलाईदै गरेको बताईएको छ ।

तपाईको प्रतिक्रिया