rautahat_district२२ मंसिर,रौतहट । विगत ४ महिनादेखि जारी रहेको मधेश आन्दोलनको कारण असहज बनेको रौतहट जिल्लाको वातावरण सहज भएको छ ।शान्तिपूर्ण प्रदर्शनबाट शुरु भएको आन्दोलन करिव १ महिनासम्म हिंसात्मक रुपमा परिणत भएपछि सीमांकन, जनसंख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण लगायतका माग राख्दै आन्दोलनको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरे पश्चात वातावारण परिवर्तन भएको हो ।
बजार पूर्ण रुपमा संचालन भइसकेको छ भने सरकारी कार्यालय, टेम्पो, रिक्सा, जीप, ट्रेक्टर, लगायतका यातायातका सवारीसाधनहरु सामान्य रुपमा ओहरदोहर गरिरहेको पाइएको छ । भाडाका सवारी साधन प्रयोगमा आएपछि सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज भएको यात्रुहरुको भनाइ रहेको छ ।
सीमामा भने मोर्चाको धर्ना दिने कार्यक्रम जारी रहेको हुँदा भारतबाट ठूल–ठूल्ला सवारीसाधन नेपाल भित्रिन सकिरहेको छैन । मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरि जिल्ला स्तरमा शान्तिपूर्ण जुलुस प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
मोर्चामा सहभागी नेताहरुले आन्दोलनको कार्यक्रमको सम्बन्धमा बेला बेलामा समीक्षा नगर्नुको कारण आन्दोलनकारीहरु सिथिल भएका छन् । गौर–चन्द्रनिगाहपुर सडकखण्डमा प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुले पटकपटक वर्तमान अवस्थाको पहिचान गरिनुपर्ने, कार्यक्रम सशक्त बनाउनु पर्ने लगायतका विषयमा चिन्तन मनन् गरी निकास खोज्नलाई आग्रह समेत गरिरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया