काठमाडौं, १३ माघ ।

अन्याय गरिएको कांग्रेस युवा नेताको आरोप

प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभामा उम्मेदवार नबनाएको भन्दै कांग्रेसमा युवा नेताहरू पार्टी नेतृत्वविरुद्ध आक्रोशित भएका छन् । काम गर्ने समयमा आफूहरूलाई जिम्मेवारी नदिएर अवसरबाट वञ्चित गर्न खोजिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । विद्यार्थी आन्दोलनमा लागेर गणतन्त्रका लागि सडकबाटै नारा लगाउने नेताले समेत तीनवटै निर्वाचनमा अवसर नपाएको उनीहरूको गुनासो छ ।

केन्द्रीय सदस्य कल्याण गुरुङले एकै वर्ष तीनवटा ठूला निर्वाचन भए पनि युवालाई अवसर नदिएर पार्टीले अन्याय गरेको बताए । ‘पञ्चायत व्यवस्था फालेर प्रजातन्त्र, लोकतन्त्रदेखि गणतन्त्रका लागि सडकमा हामीले नारा लगायौँ, आन्दोलनको उभार ल्यायौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘युवा उमेर आन्दोलनको राप र तापमा बितायौँ, राजनीतिमा युवा उमेरको उत्कर्षमा काम गर्ने अवसरबाट हामीलाई टाढा राखेर पार्टीले अन्याय गर्‍यो ।’

पार्टीले कुन मापदण्डका आधारमा टिकट बाँडेको भन्ने नै प्रस्ट नभएको गुरुङको भनाइ छ । ‘केन्द्रीय सदस्य, पार्टीका जिल्ला सभापति, दुःख गरेका, पूर्वसांसद, सहिद परिवारका सदस्य कि भिन्न क्षेत्रका विज्ञलाई टिकट दिने भन्ने नै प्रस्ट भएन, मनलाग्दी भयो । सातवटै प्रदेशमा समान मापदण्ड बनाएर टिकट नदिँदा हामीमाथि अन्याय भएको छ ।’खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

तिमीहरूको भाग्यमा लेखेको छैन भन्दिनु पर्‍यो कि न्याय दिनुपर्‍यो : गुरुङ
केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, गुरुराज घिमिरे, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, मनमोहन भट्टराई तीनवटै निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित रहे । राष्ट्रिय सभामा भए पनि टिकट दिएको भए चित्त बुझाउने पक्षमा रहेका उनीहरू पार्टीले अन्याय गरेको महसुस गर्न थालेका छन् । ‘हामी युवा नेताहरूलाई अवसर दिनुस् भनेर निरन्तर भन्दै आयौँ, तर दिइएन,’ गुरुङले भने, ‘पार्टीले कि तिमीहरूको भाग्यमा न्याय लेखेको छैन भन्दिनुपर्‍यो कि न्याय दिनुपर्‍यो । पार्टीका नेतासँग न्याय नमागे कोसँग माग्ने ?’ केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र बद्री पाण्डेलाई भने कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार बनाएको छ । नेविसंघका पूर्वसभापति गुरुङ ०५६ यताका सबै निर्वाचनमा महोत्तरीबाट प्रतिनिधिसभा र संविधानसभा निर्वाचनका लागि सिफारिस हुँदै आएका छन् । तर, अहिलेसम्म टिकट पाएका छैनन् ।

गणतन्त्रको नारा लगाउँदा जिब्रो टोक्ने नेताहरूले उपेक्षा गरे
अर्का युवा नेता गुरु घिमिरे ०६४ र ०७० को संविधानसभामा समानुपातिकतर्फ सिफारिस भएका थिए । तर, पार्टीले उनलाई सांसद बनाएन । यसपटक मोरङबाट प्रदेश सभामा सिफारिस भए पनि उनलाई टिकट दिइएन । उनको सट्टा नेता महेश आचार्यका सम्धीलाई टिकट दिइयो । ‘राष्ट्रिय सभामै टिकट पाउनुपर्छ भन्ने दाबी मेरो होइन,’ घिमिरेले भने, ‘पहिले गणतन्त्रको कुरा गर्दा नेताहरू जिब्रो टोक्थे, यिनीहरूको दिमाग खुस्कियो भन्थे, हामीले लोकतन्त्र, गणतन्त्रका लागि भएको आन्दोलनलाई उचाइ दियौँ, तर अवसर दिएर पार्टीमा काम गर्ने भूमिका दिन आनाकानी गरेकोप्रति निराश छौँ ।’

यिनले पनि अवसर पाएनन्
प्रदेश ७ बाटबाट प्यारेलाल राना, बुद्धिसागर चौधरी, मानबहादुर महतो, कञ्चनपुरका बहादुरसिंह थापा, प्रदेश १ का सर्वधन राई, खोटाङका नरेश श्रेष्ठ, संखुवासभाका दीपेन श्रेष्ठ, सोलुखुम्बुका विनोद बस्नेतले पनि यसपटक अवसर पाएनन् । सुर्खेत टोपबहादुर राउत, बाँकेका कृष्ण कार्की, डडेल्धुराका केशव सिंह, बर्दियाका महेन्द्र शर्मा पनि उम्मेदवार बन्नबाट वञ्चित रहे । सिंह र शर्मा नेविसंघका पूर्वसभापति हुन् । ललितपुरका रामकृष्ण चित्रकार, काठमाडौंका प्रगतिमान रञ्जितले पनि टिकट पाएनन् ।

अवसर नपाएकालाई थन्क्याउने ठाउँ
राष्ट्रिय सभाका लागि राष्ट्रिय जीवनमा योगदान गरेका व्यक्तिसमेत छुटेको नेता गुरु घिमिरे बताउँछन् । ‘राष्ट्रिय सभा गलत काम नहोस्, सच्चाउने ठाउँ होस्, राष्ट्रमा दूरगामी प्रभाव पार्ने विषयमा जिम्मेवारीपूर्ण निर्णय होस् भनेर बनाइने हो,’ उनी भन्छन्, ‘तर, काम गरेकालाई छुटाउने अनि कतै अवसर नपाएकालाई थन्क्याउने गरी मात्र आफूखुसी उम्मेदवार छानियो ।’ केन्द्रीय समितिले महत्वपूर्ण योगदान गरेकालाई उम्मेदवार बनाउने घोषणा गरे पनि शीर्ष केही नेताहरू बसेर राष्ट्रिय सभाका उम्मेदवार टुंग्याएकोप्रति पनि कांग्रेसमा असन्तुष्टि छ ।

समीक्षा बैठकमा खरो ढंगले प्रस्तुत हुने तयारी
केही दिनअघि बसेको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षाको विषयमा थोरै मात्र कुरा उठाएका युवा नेताहरू अब बस्ने समीक्षा बैठकमा भने निर्मम रूपले प्रस्तुत हुने तयारीमा छन् । निर्वाचनको मुखमा बोल्दा राम्रो सन्देश नजाने भन्दै उनीहरूले समीक्षा बैठकमा आफ्ना असन्तुष्टिलाई उठाउने तयारी गरेका हुन् ।

कांग्रेसमा यी नेता थिए आकांक्षी
कुलबहादुर गुरुङ
मनमोहन भट्टराई
धनराज गुरुङ
कमला पन्त
गुरु घिमिरे
कल्याण गुरुङ
रत्ना शेरचन
केशव सिंह
महेन्द्र शर्मा

आश्वासन पाउने, तर टिकट नपाउने एमाले नेता असन्तुष्ट

राष्ट्रिय सभामा उम्मेदवार बनाउने आश्वासन पाएर टिकट नपाएका एक दर्जन एमाले नेताहरू असन्तुष्ट बनेका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको टिकट नपाए पनि पार्टी नेतृत्वले उनीहरूलाई राष्ट्रिय सभामा उम्मेदवार उठाउने आश्वासन दिएको थियो ।

काठमाडौं–१ मा वाम तालमेलका कारण अन्तिममा प्रतिनिधिसभामा टिकट नपाएकी केन्द्रीय सदस्य सावित्रा भुसाल, जाजरकोटमा प्रदेश सभाबाट टिकट फिर्ता गरिएका युवा संघका पूर्वमहासचिव नीरज आचार्य, झापाबाट टिकट नपाएका नेता अग्नि खरेल, पाल्पाबाट टिकट नपाएका युवा नेता ठाकुर गैरेलगायतका दर्जनभन्दा बढी नेताले राष्ट्रियसभामा सिट पाउने अपेक्षा गरेका थिए ।

युवराज ज्ञवालीले इच्छै राखेनन्
एमालेबाट उपाध्यक्ष वामदेव गौतमबाहेक सबै पदाधिकारी सांसद बने पनि अर्का उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय सभामा उम्मेदवार बन्ने आकांक्षा राखेनन् । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्यहरू रघुजी पन्त, जगन्नाथ खतिवडा, महेन्द्रबहादुर पाण्डे पनि उम्मेदवार छनोटमा परेनन् । उनीहरू सबै राष्ट्रिय सभाका आकांक्षी थिए । त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभा तथा स्थानीय तहमा उम्मेदवार बनेकालाई अवसर नदिइने मापदण्डका कारण आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्य पनि उम्मेदवार बन्नबाट वञ्चित रहे ।

समानुपातिक सूचीमा रहेका केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, केन्द्रीय सदस्यहरू ईश्वरी विश्वकर्मा, रामप्रीत पासवान, श्रीप्रसाद साह, घनेन्द्र बस्नेत, खगेन्द्र राई, गणेश विश्वकर्मालगायतका नेता राष्ट्रिय सभा उम्मेदवार छनोटमा वञ्चित भएका हुन् । केन्द्रीय नेताहरू समानुपातिक सूचीमा रहेका कारण दलित कोटामा जिल्ला तहका धेरै ‘जुनियर’हरूले एमालेबाट राष्ट्रिय सभामा उम्मेदवार बन्ने अवसर पाएका छन् ।

जो टिकटका आकांक्षी थिए
केशव बडाल
रघुजी पन्त
जगन्नाथ खतिवडा
महेन्द्रबहादुर पाण्डे
अग्नि खरेल
ठाकुर गैरे
नीरज आचार्य
सावित्रा भुसाल

भरतमोहन भन्छन्–मलाई उपयुक्त देखेनन् होला
पुराना नेता भरतमोहन अधिकारी पनि पार्टी नेतृत्वले सामान्य परामर्श नगरी उपेक्षा गरेकोमा असन्तुष्ट छन् । तर, पार्टीले निर्णय गरिसकेपछि आफू विवाद गर्ने पक्षमा नरहेको भन्दै उनले कुनै गुनासो नरहेको बताए । ‘नेतृत्वले उम्मेदवारका लागि उपयुक्त देख्दा निर्णय हुने हो । मलाई उपयुक्त नदेखेर पनि होला, मेरो खासै आकांक्षा पनि थिएन, कसैले सोध्नु पनि भएन,’ अधिकारीले भने, ‘म सधैँभरि पार्टी निर्णयको पक्षमा उभिने व्यक्ति हुँ, निर्णयमा विवाद गर्न चाहन्न, कुनै गुनासो पनि गर्दिनँ ।’

माओवादीमा सहिद परिवारलाई उपेक्षा गरिएको गुनासो

राष्ट्रिय सभा उम्मेदवार छनोट गर्दा सहिद परिवार उपेक्षामा परेको भन्दै माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । प्रतिनिधिसभामा समानुपातिक सूचीमा रहेर नाम काटिएकी सहिद परिवारकी सदस्य चन्द्रकुमारी बस्नेतलाई राष्ट्रिय सभामा पनि छनोट नगरिएको भन्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । चन्द्रकुमारीका दुई छोरा पुष्प र धीरेन्द्र सैनिक ब्यारेकबाटै बेपत्ता भएका थिए । तर, उनको सट्टा प्रदेश १ बाट पूर्वसभासद् सावित्रीकुमार काफ्लेकी श्रीमती विना पोखरेललाई माओवादीले उम्मेदवार बनाएको छ ।

‘माओवादी क्रान्तिमा योगदान पुर्‍याउनेको उपेक्षा गर्ने क्रम बढ्दै गयो, अब कि नेतृत्वको चाकडी गर्नुपर्‍यो कि त नेताकै श्रीमती हुनैपर्ने स्थिति देखियो,’ असन्तुष्टि पोख्दै एक नेताले भने, ‘माओवादी सैद्धान्तिक रूपमै स्खलित बन्दै गएको छ ।’ मोरङका पूर्वसभासद् गोपी अछामीले पनि स्वस्थ रूपमा उम्मेदवार छनोट नभएको भन्दै असन्तुष्टि राखेका छन् ।

त्यस्तै, प्रदेश ३ बाट सिफारिसमा परेका नेता लीलामणि पोखरेल पनि उम्मेदवार छनोट हुन नसकेपछि असन्तुष्ट छन् । तर, उनले असन्तुष्टि सार्वजनिक र संस्थागत रूपमा व्यक्त गरेका छैनन् । प्रदेश ६ का प्रदेश संयोजक मायाप्रसाद शर्माले नेतृत्वले आश्वासन दिएर पनि उम्मेदवार नबनाएको भन्दै असन्तुष्टि पोखेका छन् । प्रदेश ५ मा दाङको पार्टी सचिवालय सदस्य तथा पुराना वाम नेता नारायणप्रसाद शर्माले पनि उम्मेदवार नबनाइएकोमा असन्तुष्टि जनाएका छन् ।

को को थिए आकांक्षी ?
लीलामणि पोखरेल
नारायणप्रसाद शर्मा
चन्द्रकुमारी बस्नेत
गोपी अछामी
मायाप्रसाद शर्मा

राजपाभित्र असन्तुष्टि फोरममा सामसुम

राष्ट्रिय सभा निर्वाचनमा नेतृत्वले आ–आफ्नो नजिकका नेतालाई उम्मेदवार बनाएपछि राष्ट्रिय जनता पार्टीभित्र असन्तुष्टि चुलिएको छ । राजपाले बृशेषचन्द्र लाल र रमेश यादवलाई उम्मेदवार बनाएको छ ।

राजपामा अध्यक्षमण्डलका पाँच अध्यक्षले एक–एकजना नेतालाई बोकेका थिए । संयोजक महन्थ ठाकुरले बृशेषचन्द्र लाल, महेन्द्र राय यादवले रमेश यादव, राजकिशोर यादवले विनोद सिंह, शरत्सिंह भण्डारीले शेखर सिंह र राजेन्द्र महतोले विभा ठाकुरलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए । राष्ट्रिय सभामा उम्मेदवार बन्ने भनेर चिनिएका सर्वेन्द्रनाथ शुक्लको नामबारे राजपामा छलफल नै भएन ।

राजपा अध्यक्षमण्डलको बैठकमा आठ सिटबाट पाउने दुई सिटमा महिला र अल्संख्यक कोटा लिने भन्ने सहमति भएको थियो । कांग्रेसलाई त्यसैअनुसार क्लस्टर भागबन्डा गर्न आग्रह गरिएको थियो । तर, पछि महन्थ ठाकुरको निवासमा महेन्द्र राय यादव र राजकिशोर यादवले अल्पसंख्यक र खुलाको एक–एक सिट लिने सहमति गरेपछि राजपामा अहिले असन्तुष्टि चुलिएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा भने राष्ट्रिय सभामा उम्मेदवार छनोटको विषयमा कुनै विवाद देखिएको छैन । उसले दलित कोटाबाट रामप्रीत पासवान र महिला कोटाबाट प्रमिला यादवलाई उम्मेदवार बनाएको छ ।

जो टिकटका प्रबल दाबेदार थिए
सर्वेन्द्रनाथ शुक्ल
विभा ठाकुर
शेखर सिंह
विनोद सिंह

तपाईको प्रतिक्रिया