१४ माघ, मिकाइल आलम इनरुवा। उनी अहिले १६ वर्षको भए । बिहान उठ्नासाथ उनी गोठमा काम गर्न थाल्दछन । घरमा जेजस्तो पाकेको छ खाएर गाउँभरीका गाईबस्तु चराउन कोशी नदिको किनारमा लान्छन । उनको दिन विधालयमा नभए, कोशी बगरमा यसैगरी बित्ने गर्दछ । सुनसरीको साविक हरिपुर गाविस ३ हालको कोशी गाउँपालिका वार्ड नं ६ का शिवचरण सदाको दिनचर्या हो यो ।

शिवचरण १२ वर्षको कलिलो उमेरदेखि गाउँका गाईवस्तु चराउन थालेका हुन । विधालयको मुखै देख्न नपाएका शिवचरण बस्तु चराएर प्राप्त हुने अन्नपात र नगदबाट आफू पनि पालिन्छन र परिवारलाई पनि पाल्छन । गोठालोको कमाइले शिवचरणको गरिब परिवारलाई थोरबहुत भरथेग भएको छ । शिवचरण जस्तै कोशी गाउँपालिका ७ सुकुम्बासी बस्तीकै १७ वर्षका सन्तोष मुसहरको दिनचर्या पनि यस्तै छ । उनी सुनसरी सदरमुकाम इनरुवाको एक होटेलमा भाडा माझ्ने गरेको बताउँछन् ।

होटेलमा काम गर्ने सन्तोषको दिन होटेलका भाडा माझेर सकिन्छ । तीन वर्ष देखि होटेलमा काम गर्दै आएका सन्तोषले पाँचजनाको परिवार पाल्नुपरेको छ । यता सुनसरीको साविक हरिपुर गाविस हालको कोशी गाउँपालिका ८ स्थित मुसहर बस्तीको हालत पनि त्यस्तै छ । गाउँछेउमै विधालय खुलेको २५ वर्ष भन्दा बढी भयो तर गाउँका बालिकाहरु भने दिनभर खेलेर बिताउछन ।

शिवचरण ,सन्तोष र सदाबस्तीका बालबालिका मात्र होइन गरिबीका कारण सबैजसो दलितबस्तीका बालबालिकाको अवस्था यस्तै छ । यसबीच देशमा थुप्रै परिवर्तनहरु भयो तर यसबाट अझैपनि बेखबर छन् सुनसरीका दलितहरु । आफ्नो मुक्ति हुने सपना देख्ने दलितहरु लाई राम्रो दिन आउला भन्ने भरोसा पनि छ । आधरभूत अधिकारबाट समेत वन्चित भएका दलितहरुको अवस्था त्यस्तै छ । त्यसैले पनि दलितबस्तीका धेरैजसो बालबालिका कि खेलेरै दिन बिताउछ कि उनीहरू बालश्रमिक हुन पुग्छन् ।

सुनसरीको विभिन्न साविक गाविसहरु लाई मिलाएर बनेको कोशी गाउँपालिका ,भोक्राहा गाउँपालिका ,हरिनगरा गाउँपालिका लगायतका गाउँपालिकामा दलितको घनाबस्ती रहेको छ। गरिबी कै कारण दलित समुदायका बालबालिकाहरु पढ्नलेख्न बाट वन्चित हुँदै आएका छन् । स्कुलको मुखै नदेखेका बालबालिका त छदैछन । गरिबीकै कारण दुईचार कक्षा पढेर स्कुल छोडने दलित बालबालिका पनि कम छैनन् ।

साविक हरिपुर गाविस हाल कोशी गाउँपालिका – ८ का १६ वर्षका महेन्द्र मण्डलले गरिबीकै कारण ५ कक्षा पढेर बिधालय छाडे । अहिले उनी गुजारा चलाउन चनाचटपटी बेच्छन्। राजेश सदा भने सुनसरीको कोशी गाउँपालिका वार्ड नं ८ भाणटावारी राजमार्गमा बसका यात्रुलाई कान्क्रा बेचेर परिवार चलाउछन । सामुदायिक बिधालयमा जेनतेन गरी केहि दलित अभिभावकहरुले छोराछोरीलाई १० कक्षा सम्म पढाएपनि त्यसपछि भने आर्थिक अभावका कारण उच्च शिक्षा तर्फ डोर्याउन सकिदैन । स्थानीय एकजना दलित अभिभावक बेचन सदा भन्छन् जसोतसो गरेर दश कक्षा सम्म त पढाईयो,आर्थिक अभावका कारण छोराको भविष्य बिग्रेने हो कि भनेर चिन्ता लागिरहन्छ ।

देशमा यत्रो परिवर्तन भैसकेको उनी अगाडि थप्छन् तर दलितको अवस्था जस्ताको त्यस्तै छ । दलितको यो अवस्थामाथि कसैलाई चिन्ता छैन उनले भने सबैले कुरा मात्र गर्छन् काम भने कसैले गर्दैनन् । सरकारले दलित बालबालिकालाई शिक्षाको ग्यारेन्टी गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ । पढ्ने नपाएका त छदैछन । पढदै गरेकाहरुको पढाई पनि पाठ्यपुस्तक उपलब्ध नभएका कारण अवरुद्ध छ । सामुदायिक बिधालयमा पढने दलित विद्यार्थीसंग अरु पुर्वाधार पनि छैन । पाठ्यपुस्तकको अभाव भएपछि पनि उनीहरू पढाई छाडेर बालश्रमिकको रूपमा काम गर्न बाध्य हुनुपर्ने सम्भावना छ ।

भाणटावारी कि स्थानीय तारादेवी पौडेल भन्छिन् गरिबीकै कारण दलित विद्यार्थीहरु पढाईबाट वन्चित हुने गरेका छन ।सरकारले विशेष कार्यक्रम ल्याएको भन्छ ,दलितका लागि छात्रवृत्तिको बताउँछ तर त्यो पारदर्शी छैन । स्थानीय समाजसेवी पौडेल भन्छिन दलित विद्यार्थीलाई बिधालय आउने वातावरण अझै बनाउन विशेष प्याकेज ल्याउनुपर्छ ।

मानव अधिकार सुनसरीका संयोजका रमेश भट्टराई भन्छन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा दलित बालबालिकालाई बिधालय ल्याउन केहि प्रयास त भएको छ तर पनि उनीहरू गरिबीकै कारण कि त बिधालयनै आउदैनन कि त बीचमै पढाई छाडेर बालश्रमिक बन्छन् । यसका लागि राज्यले विशेष प्रयास गर्नुपर्छ । मानव अधिकार रक्षक परिषदका सदस्य समेत रहेका भट्टराईका अनुसार दलितलाई शिक्षाको पहुँच सम्म पुर्याउन विशेष सरकारी निति नबनेको कारण दलितहरु शिक्षाबाट वन्चित हुनुपरेको हो ।

त्यसमा पनि सदियौदेखि राज्यको मुलधारबाट अलग भएको कारण उनीहरू आर्थिक रूपले पछि परे र हरेक क्षेत्रमा उनीहरूले विभेदको शिकार हुनु पर्‍यो । अबको परिवर्तनले दलितहरुलाई सबैखाले समस्या बाट मुक्ति दिनुपर्छ ।अहिले भैरहेको विकास कार्यहरुले गरिब ,विपन्न समुदायका बालबालिका लाई सम्बोधन गर्न नसकेको बताउदै मानव अधिकार संजालका भट्टराईले नेपाल सरकारले गरिबी निवारणको कार्यक्रमहरु गर्नुपर्ने बताए । भट्टराईले अहिले नेपाल सरकारले गरिरहेको गरिबी निवारणका कार्यक्रमहरु हुनेखाने ,पहुँचवाला ,पार्टीका कार्यकर्ताहरुको होल्डमा रहेकोले दलित बालबालिकाहरु लाई सम्बोधन गर्न नसकेको बताउँछन् । नयाँ नेपाल निर्माणको क्रममा रहेको हाम्रो देशमा दलितको अवस्थामा कुनै परिवर्तन नदेखिनु सकारात्मक पक्ष होइन । त्यसमा पनि शिक्षा हासिल गर्नबाट सीमान्तीकृत वर्ग वन्चित हुनुपर्ने अवस्थाबीच नयाँ नेपालको कल्पना नै गर्न सकिदैन । यसतर्फ सम्बन्धि निकाय समयमै गम्भीर हुनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया