१५ माघ, सुन्दरहरैचा। मोरङको सुन्दरहरैचाका ४ मा बसोबास भएकी १९ वर्षीय मालती मुरर (ऋषिदेव) लाई नेपालकै होचो महिला भएको भन्दै सुन्दरहरैंचा नगरपालिकाले मासिक २ हजार भत्ता दिने निर्णय गरेको छ । ती महिलाको उचाई ३२ इन्च र तौल १४ केजी मात्र छ । मुररको जन्म २०५६ साल भदौ १८ गते भएको थियो । बुबा रमेश कुमार मुरर र मिना कुमारीको पहिलो सन्तानको रुपमा जन्मिएको मालतीको जन्म सामान्य रुपमा भएपनि एक वर्षपछि भने उचाई बढ्ने क्रम निकै ढिलो गतिमा भएको थियो ।

सुन्दरहरैचा नगरपालिकाका मेयर शिबप्रसाद ढकालले पत्रकार सम्मेलन नै गरेर ती महिलाको भरण पोषणमा सामाजिक सुरक्षा बापत मासिक २ हजार रुपैयाँ दिन सुरु गरेको जानकारी दिएका छन । उनले भने – हामीलाई उनको विषयमा वडा कार्यालयबाट जानकारी प्राप्त भएपछि उनको भरण पोषणका लागि सहयोग दिन सुरु गरेका हौं ।’ नगरपालिका कार्यालयमा औपचारिक कार्यक्रम गरी ती महिलाको स्वास्थ्य उपचार तथा उचाई नबढ्नुको कारण पत्ता लगाउने पनि उनले बताए । ती महिलाकी आमा मीना कुमारीका अनुसार जेठी छोरी मालती सामान्य रुपमै जन्मिएकी थिईन तर उसको उचाई भने बढ्न सकेन । अरु तीन सन्तानको उचाई सामान्य नै छ । नागरिकता बनाउन वडा कार्यालयमा सिफारिस लिन गएपछि वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले मालतीलाइ फेला पारेको मेयर ढकालले बताए ।


ती महिलाको बारेमा इनरुवा अनलाइनले समाचार प्रकाशन गरेको थियो । मुरर परिवार नजिकैको बुढी खोलामा बालुवा चाल्ने काम गर्छन । त्यहीबाट आएको पारिश्रमिकले परिवार चलेको मेयर ढकालले बताए । नगपालिकाले मालतीको स्वास्थ्य परीक्षण गर्न विराटनगरको नोबेल अस्पतालसँग छलफल अघि बढाएको र अस्पतालले पनि सकारात्मक जवाफ दिएको नगरपालिकाका प्रमुख ढकालले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया