१५ माघ, इनरुवा । अघिल्लो वर्ष नै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भएपनि सुनसरी आउँदो फागुन महिना भित्रमा भने औपचारिक रुपमा साक्षर जिल्ला घोषित हुने भएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले साक्षर जिल्ला घोषणा कार्यक्रम लक्षित गरी सरोकारवालाहरुसँगको समन्वय र सहकार्यलाई अघि बढाईसकेको छ ।

जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जिल्ला स्थित सबै स्थानीय तहसँगको समन्वय र आपसी छलफल पश्चात प्राप्त सुझावका आधारमा औपचारिक कार्यक्रमको तयारी अघि बढाइने बताउनुभयो । साक्षर जिल्ला घोषणाकालागि जिल्लागत साक्षरता सूचक न्यूनतम ९४ दशमलव पुग्नुपर्ने सरकारी प्रावधान छ । कुल जनसंख्या मध्येबाट १५ देखि ६० वर्ष उमेर समूहको साक्षर प्रतिशतलाई आधार मानेर साक्षरता सूचक कायम गर्ने गरिन्छ । सुनसरीको हालको साक्षरता प्रतिशत ९५ दशमलव ४० प्रतिशत रहेको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । बाँकी निरक्षर संख्यालाई समेत साक्षर बनाउदै सत प्रतिशत साक्षर जिल्ला बनाउने तर्फ अभियान केन्द्रित गरिएको जिल्ला शिक्षा अधिकारी सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया