Sushma-with-Morcha-650२३ मंसिर काठमाडौं । भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेताले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार ठहर्‍याएका छन्।

मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार भएको छुट्टाछुट्टै भेटवार्तामा सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन प्रस्ताव आफूहरूलाई मान्य नभएको पनि बताए।

भेटमा डोभलले मधेस आन्दोलनका कारण भारत पनि समस्यामा परेको बताएका थिए भने जयशंकरले काठमाडौं गएर एक चरण सरकारसँग वार्तामा बस्न र नभए नयाँ ढंगले अघि बढ्न मोर्चाका नेतालाई सुझाव दिएका थिए। डोभलले मंगलबार साँझ भएको भेटमा मधेसलाई नयाँ संविधानबाट अन्याय भएकोप्रति आफूहरू प्रस्ट रहेको बताएका थिए।

नेपाल सरकारले संसद्मा पेस गर्ने भनेको संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य छ कि छैन भनी उनले मोर्चाका नेतालाई सोधेका थिए। प्रत्युत्तरमा मोर्चाका नेता महन्थ ठाकुरले सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संशोधन प्रस्तावमा आफूहरू सहमत नभएको बताएका थिए।

ठाकुरले मधेसी समुदायलाई सत्तासीन दलहरूले दोस्रो दर्जाको नागरिकका रूपमा मान्दै आएकाले अझै पनि संकटको निकास निस्कन नसकेको आरोप लगाएका थिए। मोर्चाका अर्का नेता महेन्द्र यादवले नेपालमा भारतविरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलगायत सत्ता गठबन्धन नै दोषी रहेको बताएका थिए।

उनले सरकार मधेसी समुदायका मागप्रति अझै पनि गम्भीर नरहेको बताएका थिए।भेटमा डोभालले नेपालमा भारतविरोधी भावना बढ्नु हितकर नरहेको बताए। आन्दोलन कसरी अघि बढाइरहनुभएको छ र सरकारसँगको वार्ता कहाँ पुगेको छ भन्ने उहाँको मुख्य चासो थियो,सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने।

मोर्चाका नेताले भारतीय विदेश सचिव जयशंकरसमक्ष भारतको साथ र सहयोग नभए आफूहरूको आन्दोलन कमजोर हुने भन्दै भारतको निरन्तर सहयोग र समर्थनको अपेक्षा गरेको बताएका थिए। जयशंकरले मधेसीका माग पूरा होस् भन्ने भारतको सदिच्छा रहेको बताएको जानकारी महतोले दिए। आजको अन्नपूर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया