१९ माघ, इनरुवा। सुनसरीको इनरुवाबाट पक्राउ परेका मोटरसाइकल चोरसँग पत्रकारको परिचय पत्र भेटेपछि प्रहरीनै चकित परेको छ ।मोटरसाइकल चोरी भएको उजुरी पश्चात खोजतलाशको क्रममा प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका हेमन्तराज मेहता र बिराटनगरका रोहित यादवलाई पक्राउ गरेको थियो ।

इनरुवा अस्पताल हाताबाट हराएको रामबाबु सेवेदीको २१ प १९४७ नम्वरको पल्सर मोटरसाइकल प्रहरीले इनरुवा स्थित रहेको सुनसरी मोरङ्ग सिचाई आयोजना नजिक लुकाएर राखेको अवस्थामा फेला पारेको थियो । चोरीको आरोपमा पक्राउ परेका रोहित यादबले आफु संचारकर्मी भएको भन्दै स्थानीय दैनिक पत्रिकाको परिचय पत्र देखाएपछि प्रहरी आश्चर्यमा परेको थियो ।

पक्राउ परेकाहरु उपर म्याद थप गरी कार्वाही अघि बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।प्रहरीले पक्राउ परेकाको साथबाट पत्रकार परिचय पत्र फेला परेको स्विकारेपनि उक्त परिचयपत्र नक्कली भएको बताएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिको साथबाट इनरुवाबाट प्रकाशित हुने प्रतिक्षण दैनिकको नक्कली कार्ड फेला पारेको थियो । पक्राउ परेकाहरु अन्य चोरीका घटनामा समेत संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

तपाईको प्रतिक्रिया