२० माघ, धनुषा। संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्वारा चयन गर्ने निर्णय गरेको छ ।
प्रदेश नम्वर २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढङ्गले अघि बढाएको छ । चुनावअघि फोरम नेपाल र राजपा बीच गठबन्धन बन्ने बेला भएको सहमति अनुसार जो ठूलो दलहुन्छ, उसैको नेतृत्वमा सरकार बन्ने सहमति भएको थियो । जसअनुसार स्वाभाविक रुपमा फोरम नेपालले प्रदेश सरकारको नेतृत्व गर्ने गरी मुख्यमन्त्री चयनको गृहकार्यलाई तीब्रता दिएको हो ।

जनकपुर स्थित फोरम नेपालको जिल्ला पार्टी कार्यालयमा शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री चयनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी उपाध्यक्षएवं प्रदेश नम्व २ कि प्रमुख रेणु यादव संयोजक र मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ । फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शनिबार गठित निर्वाचन समितिले आइतबारदेखि निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेछ । यद्यपि, औपचारिक रुपमा निर्वाचनमा जानु अघि सर्वसम्मत ढङ्गले मुख्यमन्त्री चयनको अधिकतम प्रयास जारी राख्ने सहमति भएको फोरम नेपालका प्रदेश सांसद सरोज सिंहले जानकारी दिएका छन् ।

सम्भव भए सर्वसम्मत नभए निर्वाचन मार्फत् चयनहुने प्रदेशको संसदीयदलको नेता नै मुख्यमन्त्रीको उम्मेदबार हुने प्रावधान छ ।
यसैगरी प्रदेश सरकारको नियमावली मस्यौदा समितिको लागि सरोज सिंह र चञ्चमाया मोक्तान चयन भएका छन् । फोरम नेपालको नियमावली मस्यौदा तयारी समितिको संयोजकमा रामआशिष यादव तथा सदस्यमा सञ्जय यादव र पारस साह चुनिएका छन् । कार्यव्यवस्था समितिकोलागि ज्ञानेन्द्र यादव र योगेन्द्र राय यादवलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया