२६ माघ, अमर काफ्ले इनरुवा। जिल्ला शिक्षा कार्यालय सुनसरीले साक्षर जिल्ला घोषणाकालागि २१ सदस्यीय मूल समिति गठन गरेको छ ।फागुन १५ गते हुने घोषणा कार्यक्रमकालागि जिल्ला समन्वय समितिका सुनसरीका अध्यक्ष गोपालराज भण्डारीको संयोजकत्वमा साक्षर घोषण मूल समारोह समिति गठन गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय सुनसरीमा आज बसेको अनौपचारिक शिक्षा समितिको बैठकले घोषणा कार्यक्रमको तयारी लगायतका विषयमा सरोकारवालाबिच समन्वय गरी अघि बढ्ने निर्णय समेत गरेको छ । कार्यक्रमलाई जिल्लाकै नमूना बनाउन आवश्यक्ता अनुरुपको उपसमितिहरु गठन गरिने जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।

कार्यक्रमकालागि तयारी तिव्र पारिएको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए । सुनसरीको हालको साक्षरता प्रतिशत ९७ प्रतिशतको हाराहारीमा रहेको छ । साक्षर जिल्ला घोषणाकालागि १६ देखी ६० वर्ष उमेर समूहको जनसंख्या मध्ये ९५ प्रतिशत लेखपढ गर्न जान्ने हुनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया