काठमाडौं, ७ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार १ सय ३४ जना कर्मचारीमाथि कारवाही र छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।केन्द्रले सम्पत्ति विवरण नबुझाउने निवर्तमान मन्त्री, पूर्वसांसद, निजामती कर्मचारी, शिक्षक, सैनिक, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थान र निकायमा कार्यरत पदाधिकारीलाई कारबाहीका लागि आइतबार अख्तियारसमक्ष सिफारिस गरेको हो ।

आर्थिक वर्ष ०७३/७४ को सम्पत्ति विवरण नबुझाएपछि उनीहरू कारबाही सिफारिसमा परेका हुन् । कारबाही सिफारिसमा पर्नेमा निवर्तमान सरकारका मन्त्री मोहनबहादुर बस्नेत, जितेन्द्र देव र सुनीलबहादुर थापा छन् । यसैगरी, तत्कालीन संसद्का २४ जना सांसद पनि समयमा सम्पत्ति विवरण नबुझाएपछि कारबाही सिफारिसमा परेका छन् ।

संघीय फोरमका अध्यक्षसमेत रहेका उपेन्द्र यादव, पूर्वमन्त्री विश्वेन्द्र पासवान, पूर्वराज्यमन्त्री ल्हार्केल लामा, राजीवविक्रम शाही, मोहम्मद मुस्ताक आलम, पद्मनारायण चौधरीलगायत रहेको बताइएको छ ।

कारबाही सिफारिसमा पर्नेमा सबैभन्दा बढी ११ हजार ४ सय ५५ जना शिक्षक र ४ हजार ५ सय २५ जना निजामती कर्मचारी रहेको सतर्कता केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सैनिक १ हजार ४ सय ४५, प्रहरी १ सय १३ तथा अन्य विभिन्न सार्वजनिक संस्थान र निकायका १ हजार ५ सय ९६ पदाधिकारी र कर्मचारी कारबाही सिफारिसमा परेका छन्। जम्मा ४ लाख ४९ हजार १ सय ४० जना सरकारी कर्मचारीमध्ये ४ लाख २९ हजार १ सय ७२ जनाले भने निर्धारित समयमै सम्पत्ति विवरण बुझाएको केन्द्रले जनाएको छ। ८ सय ३४ जनाले तोकिएको समयभन्दा निकै पछि सम्पत्ति विवरण बुझाएका थिए ।

राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता सहसचिव विष्णुराज लामिछानेले भ्रष्टाचार निवारण ऐनअनुसार तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउनेहरूको सूची अख्तियारसमक्ष बुझाएको जानकारी दिए ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम सार्वजनिक पद धारण गरेका र राष्ट्रिय ढुकुटीबाट तलब सुविधा लिने सबै राष्ट्रसेवकले हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र र सार्वजनिक पदधारण गरेको मितिले पनि ६० दिनभित्रै तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्छ ।

तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अख्तियारले पाँच हजारसम्म जरिवाना र अकुत सम्पत्तिमा छानबिनसमेत गर्नसक्ने कानुनी प्रावधान छ ।अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया