- राजकुमार पासवान

८ फागुन, कञ्चनपुर।  गत फागुन १ गते मंगलवार हात्तीको आक्रमणबाट मारिएका दुई जना महिलाका परिवारले राहत नपाउने भएको छ ।
सप्तरीको कञ्चनरुप न.पा. ५ स्थित पथरीमा खर काट्न कोशी टप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा आत्तीको आक्रमणबाट वडा नम्वर–५ पथरीका नारायण साहकी ३५ वर्षिय पत्नी मञ्जुदेवी साह र टिरहा मुखियाकी ४५ वर्षिया पत्नी दुर्गी देवी मुखियाको मृत्यु भएको थियो ।

मृतक परिवारले राहत नपाउने
कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्याम कुमार साहले दुवै जना महिला गैर कानूनी रुपमा आरक्ष भित्र दाउरा लिन जानेक्रममा आरक्ष क्षेत्रमा मारिएकाले सरकारी तर्फबाट कुनै पनि राहत नपाउने बताए । आरक्षको जनावरबाट मारिएका परिवारले राहत स्वरुप १० लाख रुपैया क्षतिपूर्ति पाउँदै आएको छ । ‘जनप्रतिनिधिहरु पटक पटक फोन गरीरहेको छ,राहतको लागि तर कुनै पनि हालतमा मृतक परिवारले राहत पाउदैन । वार्डेन साहले भने ‘ एक त गैर कानुनी रुपमा महिलाहरु दाउरा लिन आरक्ष भित्र जान्छ,सेनाहरुले पक्राउ गर्न खोज्दा उल्टै दुरव्यवहार गर्यो भनेर आरोप लगाउँछन् अनि हात्ती आक्रमणबाट मारिएपछि क्षतिपूर्ति पनि माग्छन् । आरक्ष भित्र मारिएका व्यक्तिलाई सरकारी वा गैर सरकारी कुनै पनि निकायले क्षतिपूर्ति दिदैन । आरक्षबाट आएको हात्ती र अर्नाको आक्रमणमा विगत ७ वर्षमा १९ जनाको ज्यान गएको छ । वितेको ७ वर्षमा हात्तीको आक्रमणबाट १४ जना र अर्नाको आक्रमणबाट ५ जना गरि १९ जनाको मृत्यु भईसकेको छ ।

१ करोड ३० लाख रकम फिर्ता
कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्याम कुमार साहले कञ्चनरुप नपा ५ स्थित पथरी देखी बदगामासम्म घेराबेरा गर्न गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैया विनयोजन गरिएको रकम फिर्ता गएको बताए । ‘हामीले पटक पटक घेरा बेरा गर्न बैठक गर्यौं तर स्थानीय केही व्यक्तिहरुको विरोधका कारण घेराबेरा गर्ने काम नभएकोले पैसा फिर्ता गएको हो । वार्डेन साहले भने‘ उदयपुरको भागलपुर तर्फ समेत घेराबेरा भइसक्यो, सुनसरीमा पहिले भएको थियो तर सप्तरीको जनताले यसतर्फ ध्यान दिएको छैन,जसले गर्दा बढी क्षति व्यहोर्नु परेको छ ।

बाली क्षति,आरक्ष घेराबेराबारे वृह्त छलफलको तयारी
कोशी टप्पुको समस्याबारे कोशी टप्पु वन्य जन्तु आरक्षको वरीपरीका गाउँपालिका,नगरपालिकाका प्रमुख ,अध्यक्ष, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुबीच वृह्त छलफल हुने भएको छ । आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्याम कुमार साहले अगामी फागुन १४ गते छलफल आयोजना गर्ने तयारी भइरहेको बताए । कोशी टप्पुवन्यजन्तु आरक्षबाट आउने जनावरले दिने दुःख,बाली क्षति,आरक्ष घेराबेराबारे वृह्त छलफल हुने बताइएको छ । छलफलमा कञ्चनरुप नपा,सप्तकोशी नपा,बेलका नगरपालिका,कोशी गाउँपालिका र बराह नगरपालिकाका अध्यक्ष, प्रमुखहरु तथा त्यस क्षेत्रका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरु सहभागी बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया