काठमाडौँ, १० फागुन  । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ। नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ। लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ।

सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो। एक सैनिक पुमा हेलिकप्टर बिक्री भएको छ।

विशिष्ट व्यक्तिका लागि उपयोग गरिएका दुई सुपरपुमा र सेनाले प्रयोग गरेको अर्को एउटा हेलिकप्टर पनि बिक्रीमा राखिएको थियो। एजेन्टमार्फत बिक्री गरिएको उक्त पुमा हेलिकप्टर छिट्टै अफ्रिकी मुलुक पुग्नेछ। अफ्रिकी महादेशमा रहेका आफ्ना सेनाका अधिकृतहरूमार्फत सेनाले बिक्रीको लबिइङ गरिरहेको छ।

उक्त पुमा सामान्य मर्मतपछि उडान भरेरै लैजाने वा प्लेनमा लगेर उतै मर्मत गर्ने भन्ने निश्चित भएको छैन। उक्त हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष खरिद गर्ने एजेन्टको छ। सेनाले मर्मतमा धेरै खर्च लाग्ने भन्दै यस्ता हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा बिक्री गर्न लागेको हो । धेरै पटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको निष्कर्षमा सेनाको छ।

हेलिकप्टर किन्ने मुलुकको नाम नखुलाइए पनि यो अफ्रिकी महादेशमा आर्थिक उन्नति हासिल गर्दै गरेको मुलुकमा उड्ने निश्चित भइसकेको सेनाको उच्च स्रोतले जनायो। यो हेलिकप्टरको बिक्रीमा सेनाभित्रैबाट प्रश्न पनि उठेको छ। मर्मत गरेर उडान भर्न सक्ने हेलिकप्टर ‘कवाडी’ को भाउमा बिक्री गर्न लागिएको भन्दै सेनाका केही अधिकारीले जिज्ञासा राख्ने गरे पनि चेनअफ कमान्ड मानेर थप नबोलेको स्रोतले बतायो।

‘धेरै छलफल र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर मूल्य निर्धारण गरेका छौं,’ हवाई निर्देशनालय निकट एक अधिकारीले आफ्नो बचाउ गरे। बिक्रीमा राखिएका अरू दुई हेलिकप्टर र एक एभ्रोका लागि १० प्रतिशत रकम जम्मा भइसकेको सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कान्तिपुरलाई बताए।

‘एभ्रो जुन मुलुकमा लैजान लागिएको हो, त्यो मुलुकको स्विकृतिलगायतका प्रक्रियाका कारण अघि बढ्न सकेको छैन। दुई सुपर पुमाबारे भने छलफल भइरहेको छ,’ उनले भने। सेनाले आफूसँग रहेका तीन थान पुमा,सुपर पुमा हेलिकप्टर, एक चिता हेलिकप्टर, एभ्रो हवाईजहाज, दुई एलौट हेलिकप्टर र दुई एमआई १७ हेलिकप्टर र त्यसका पार्टपुर्जा लिलामको तयारी थालेको थियो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया