- अमर काफ्ले

११ फागुन,  इनरुवा। सुनसरीको भाण्टाबारीबाट नेपाली चेली सहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले अभिभावकलाई जिम्मा लगाउने तयारी गरेको छ । झापा घर भै धरानमा अध्यनरत १८ वर्षे युवती लिएर भारत तर्फ लैजाने क्रममा भारतको उत्तर प्रदेश स्थित उन्नाव सिटी घर भएका सिद्धान्त बाजपेयीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सीमा क्षेत्रमा रहेका अधिकारकर्मीहरुले शंकाको आधारमा युवा जोडीलाई सोधपुछ पछि प्रहरीको जिम्मा लगाएको थियो । भाण्टाबारी प्रहरी चौकीले दुवैजनालाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पठाएकोमा सुनसरी प्रहरी अभिभावक बोलाएर जिम्मा लगाएको छ । युवतीलाई परिवारको जिम्मा लगाइसकेको बताउने सुनसरी प्रहरीले केटाको परिवार आउने क्रममा रहेको बताएको छ ।

पक्राउ परेका दुवैले तीनवर्षयता फेसबुक सम्पर्कमा रहेको र राजीखुशी भागेको बताएकाले अभिभावक बोलाएर जिम्मा लगाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी नारायणप्रसाद चिमरियाले अनुसन्धानका पक्राउ परेकाहरु उपरको अनुसन्धानको क्रममा मानव वेचविखन तथा ओसारपसारजन्य घटनामा संलग्नता नदेखिएको हुनाले अभिभावकको जिम्मा लगाइएको बताउनुभयो । युवतीले प्रहरी समक्ष बयानका क्रममा समेत आफुहरु फेसबुक मार्फत तीन वर्षयता नियमित सम्पर्कमा रहँदै आएको बताएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया