११ फागुन, राजविराज। सप्तरीबाट भन्सार छली भारत निकासी हुँदै गरेको लाखौं मूल्य बराबरको चाइनिज स्याउ र २ वटा टेम्पोसहित सप्तरी प्रहरीले २ जनालाई गएराति नियन्त्रणमा लिएको छ। राजविराजबाट भारतको कुनौलीतर्फ जाँदै गरेको लाखौं मूल्य बराबरको चाइनिज स्याउ र २ वटा टेम्पो सहित सप्तरी प्रहरीले २ जनालाई तिलाठी–कोइलाडी गाउँपालिका १ स्थित दशगजा आसपासबाट नियन्त्रणमा लिएको हो ।

स १ ह ७७ र स १ ह १५१ नंं को टेम्पो प्रयोग गरी १ सय वटा कार्टुनमा १ हजार केजी स्याउ भारत निकासी गरिरहेका सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका १५ का १९ वर्षीय सुजितकुमार यादव र छिन्नमस्ता गाउँपालिका ५ का २८ वर्षीय भोगिलाल शर्मालाई पक्राउ गरेको हो। टेम्पोसहित करिब २ लाख २० हजारको चाइनिज स्याउ र पक्राउ दुवैलाई तिलाठीस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया