काठमाडौं, १३ फागुन । दुवै तर्फबाट पार्टीका विभिन्न तहका संगठनात्मक संरचनाबारे रिर्पोटिङ गर्ने क्रममा माओवादीले केन्द्रीय सदस्यहरूको वास्तविक संख्या बैठकमा पेस गर्न सकेन ।नेता वर्षमान पुनले आफ्नो पार्टीले एकपटक ४ हजार केन्द्रीय सदस्य बनाए पनि पछि संख्या थपिएकाले अझै संख्या यकिन गर्न नसकेको जानकारी गराएका थिए ।

‘एकपटक हामीले ठूलो आकारको बनाऊँ भन्ने भएपछि ४ हजार संख्याको केन्द्रीय कमिटी बनाएको हो, त्यसपछि पनि असन्तुष्टि आएपछि थप्ने भनियो, अध्यक्षले थपेको हुनसक्छ, त्यसैले संख्या अझै यकिन छैन,’ बैठकमा भने ।

केन्द्रमा असहज, तल मिलाउन सहज

रिर्पोटिङपछि दुवै पार्टीका नेताहरूले प्रदेशभन्दा तल संरचना मिलेका कारण एकीकरणमा सहज हुने, तर दुवै पार्टीको केन्द्रीय संरचना भिन्न–भिन्न देखिएकाले मिलाउन केही असहज हुनसक्ने सामान्य समीक्षा गरेका थिए । एमालेमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, सल्लाहकार परिषद्, केन्द्रीय आयोग र विभागहरू रहेको नेताहरूको रिर्पोटिङ थियो ।

तर, माओवादीमा अध्यक्षबाहेक पदाधिकारी नरहेको, धेरै सानो हेडक्वार्टर, पोलिटब्युुरो र केन्द्रीय कमिटी रहेको जानकारी गराइएको एक नेताले बताए ।

‘केन्द्रीय कमिटी कसरी मिलाउने, पदाधिकारी राख्ने कि नराख्ने, पोलिटब्युरो कसरी बनाउनेजस्ता कुरामा छलफलकेन्द्रित गर्नुपर्ने स्थिति देखिन्छ’, ती नेताले भने ।

त्यस्तै, माओवादीमा एमालेको भन्दा भिन्न पूर्वजनमुक्ति सेना, सहिद र बेपत्ता परिवारको छुट्टाछुट्टै जनसंगठन रहेकाले उनीहरूलाई कुन हैसियतमा मिलाउने भन्ने विषयमा पनि कार्यदलमा छलफल हुने भएको छ । दुवै पार्टीका प्रवासी संगठनको ढाँचा पनि फरक देखिएको छ ।

कार्यतालिकाभित्र एकीकरणको खाका बनाइने

बैठकले संयोजक बादललाई संगठनात्मक एकताको स्वरूप तय गर्न कार्यतालिका र हरेक बैठकका कार्यसूची बनाउने जिम्मेवारी दिएको छ । त्यस्तै, एमाले उपमहासचिव विष्णु पौडेललाई कार्यदलका सदस्यले पालना गर्नुपर्ने आचारसंहिता बनाउने जिम्मेवारी तोकिएको छ ।

विष्ट प्रवक्ता चयन

बैठकले एमाले सचिव गोकर्ण विष्टलाई प्रवक्ता तोकेको छ । कुनै पनि सदस्यले छलफलका विषय बाहिर सार्वजनिक नगर्न तथा सहमतिअनुसार टुंगिएका विषय मात्र मिडियामा सार्वजनिक गर्नका लागि विष्टलाई प्रवक्ता तोकिएको एक नेताले बताए ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया