१३ फागुन, राजविराज। सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय विरुद्ध आन्दोलनरत संघर्ष समितिले आइतवार क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । गत माघ २१ गते देखि चरणवद्ध आन्दोलन गर्दै आएका नेपाल प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस एकाइ संघर्ष समिति राजविराजले क्याम्पसको सम्पूर्ण कामकाज ठप्प पार्दै अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

२०१४ सालमा स्थापित क्याम्पसलाई त्रिविविकै आङ्गिक क्याम्पसको रुपमा रहने गरी सरकारी निर्णय सच्याउनुपर्ने आफुहरुले मूल माग रहेको संघर्ष समितिका अध्यक्ष सिंहेश्वर यादवले जानकारी दिएका छन् । क्याम्पसलाई राजर्षि जनक विश्व विद्यालयमा गाभिए त्रिवि अन्तर्गतको आंगिक क्याम्पसका प्राध्यापक तथा विद्यार्थीमा भय सिर्जना हुने, क्याम्पसमा कार्यरत अस्थायी, करार, आंशिक शिक्षक र कर्मचारी स्वतः खारेज हुने भएकोले सो निर्णय नसच्याएसम्म अनिश्चितकालिन तालाबन्दी कार्यक्रम जारी नै रहने उनले बताए । त्रिभुवन विश्वविद्यालय भन्दा पनि जेठो क्याम्पसलाई राजर्षिमा गाभिनु अन्यायपूर्ण कार्य भएको भन्दै उक्त निर्णय विरुद्ध आफुहरु सशक्त संघर्ष गर्ने निष्कर्षमा पुगेको सिरहा क्याम्पसका प्रा. कपिलदेव यादवले चेतावनी दिए ।

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुलाई राजर्षि जनक विश्व विद्यालयको मातहतमा राखिनु सरकारको गलत निर्णय भएको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्रा. रामहिरदय मण्डलले प्रतिक्रिया दिए । राजर्षि जनक विश्व विद्यालयको विरुद्धमा आफुहरु नरहेको तर हतारमा गरिएको निर्ण गलत रहेको भन्दै राजविराजका प्राध्यापकहरुले थालेको आन्दोलनमा आफुहरुको समेत समर्थन रहेको उनले बताए ।
केही नेताले निहित स्वार्थ सिद्धिकालागि सम्वन्धित क्याम्पसहरुसँग राय सल्लाह नै नगरी यस्तो निर्णय गरेको भन्दै यसलाई तत्काल सच्याउनुपर्नेमा महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका प्रा. डा. हेमकुमार मिश्राले बताए । पूर्वाही निर्णय नसच्याएसम्म आफुहरुको आन्दोलन जारी रहने उनले चेतावनी दिए ।

यता क्याम्पसमा थालिएको आन्दोलनप्रति विद्यार्थीहरुले समेत ऐक्यवद्धता जनाउँदै चाँडो भन्दा चाँडो निर्णय फिर्ता लिई नियमित पठन–पाठनको वातावरण बनाउन सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । राजर्षि जनक विश्व विद्यालय ऐनको दफा २० (१) ख बमोजिम प्रदेश नम्वर २ मा त्रिवि अन्तर्गत रहेका जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया