- अमर काफ्ले

१५ फागुन, इनरुवा। सुनसरी जिल्ला आज मंगलवारबाट औपचारिक रुपमा साक्षर जिल्ला बन्दैछ । प्रदेश एकका मूख्य मंत्री शेरधन राईको औपचारिक घोषणासँगै सुनसरी मुलुकको हाल कायम रहेको ७७ मध्ये ४५औं साक्षर जिल्ला बन्दैछ । नेपालमा शिक्षाको विकास क्रमलाई हेर्दा प्राचिन कालिन समयताका कचहरी, धार्मिक सभा र गुरुकुल शिक्षा मौखिक शिक्षाका रुपमा स्थापित भएको पाइन्छ ।

औपचारिक शिक्षाको विकास भने वि.स.२००४ सालमा आधार शिक्षाको थालनीसँगै भएको हो । २०१३ सालको प्रथम पञ्चवर्षिय योजना सुरुवातसँगै पौढ साक्षरता कार्यक्रमले निरन्तरता पाएको हो । साक्षरता कार्यक्रम नेपालमा २०३५ सालदेखि ब्यापकता दिइएको पाइन्छ ।
२०६७÷६८ सालको घरधुरी सर्वेक्षण अनुसार सुनसरीमा १५ देखि ६० वर्ष उमेर समूहको निरक्षर संख्या १ लाख २२ हजार ९ सय ५५ रहेकोमा त्यसपछि निरन्तर रुपमा शैक्षिक गुणस्तरसँगै साक्षरता लक्षित विभिन्न कार्यक्रमहरु संचालनमा रहँदै आएका छन् ।

साक्षरत अभियानसँगै ०७१÷७२ देखि संस्थागत तथा सामूदायिक माध्यमिक विद्यालयहरुका कक्षा ९ र १०का विद्यार्थी परिचालन गरी शैक्षिक वर्ष ०७३ ÷७४ मा आइपुग्दा १ लाख १७ हजार ४ सय २८ व्यक्ति साक्षर भएको अवस्था रहेको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा अब ५ हजार ५ सय २७ जना मात्र निरक्षर रहेका छन् । जसलाई समेत साक्षरतामा समावेश गर्ने प्रयासलाई निरन्तरता दिइरहिएको छ । साक्षरता जिल्ला घोषणकालागि सरकारी मापदण्ड ९५ दशमलव हुनुपर्ने प्रावधान रहेको छ । हाल सुनसरीको साक्षरता प्रतिश ९५ दशमलव ५० लाई आधार मानेर जिल्ला शिक्षा कार्यालयले सुनसरीलाई साक्षर जिल्ला घोषणा गर्दै छ ।

प्रदेश नम्वर एकमा पर्ने सुनसरी प्रदेशका १४ जिल्ला मध्ये विकसित जिल्लाका रुपमा रहेको छ । ४ संघीय निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रादेशिक निर्वाचन क्षेत्र ८ वटा रहेको छ । २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरी जिल्लामा २०६८ को जनगणना अनुसार १ लाख ६२ हजार ४ सय ७ घरधुरी रहेको छ । ७ लाख ६३ हजार ४ सय ८७ घनसंख्या रहेको यस जिल्लाको जनघनत्व ६सय ७ दशमलव ३८ रहेको छ भने जनसंख्याको वृद्धिदर १ दशमलव ९९ प्रतिशत रहेको छ ।

सुनसरीका १२ वटा स्थानीयतहको शैक्षिक अवस्था हेर्ने हो भने जिल्लाको सबैभन्दा बढी साक्षरता प्रतिशत रहेको निकाय धरान रहेको छ । धरान उपमहानगरपालिकाको साक्षरता प्रतिशत ९६ दशमलव ४२ प्रतिशत रहेको छ । इटहरी उपमहानगरपालिकाको साक्षरता प्रतिशत ९६दशमलव २१ प्रतिशत रहँदा क्रमश इनरुवा नगरपालिका ९५ दशमलव ५७, दुहवी नगरपालिका ९५दशमलव ३०, रामधुनी नगरपालिका ९५ दशमलव ४३,बराह नगरपालिका ९५दशमलव ८५,देवानगञ्ज गाउँपालिका ९५ दशमलव ०९, कोशी गाउँपालिका ९५ दशमलव ०३, गढी गाउँपालिका ९५दशमलव १६,बर्जु गाउँपालिका ९५ दशमलव ०५, भोक्राहा गाउँपालिका ९५ दशमलव १५ र हरिनगर गाउँपालिकाको हालको साक्षरता प्रतिशत ९५ दशमलव ५० प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया