- अमर काफ्ले

इनरुवा फागुन १७/ होली पर्वलाई मर्यादित तवरले शब्य र भब्य रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय सुनसरीले सर्वसाधारणका नाममा आग्रह गरेको छ । सुनसरी प्रहरीले कोही कसैलाई होलीका नाममा जबरजस्ती गर्न नपाइने जनाएको हो । रङ्गको पर्व भएपनि एक आपसमा सहमति बिना कसैलाई जबरजस्ती रङ्ग दलेको पाइए त्यस्ता व्यक्ति उपर पक्राउ गरी कार्वाही चलाइने जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनु भयो ।

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, उच्छृङखल गविविधीमा संलग्न हुने तथा लागुऔषधजन्य पदार्थ सेवन गरेको पाइए नियन्त्रणमा लिइने सुनसरी प्रहरीले जनाएको छ । सबैले होली भयरहीत र शान्तिपूर्ण तवरमा मनाउन सकुन भन्ने उद्येश्यसाथ जिल्लाभर विशेष सुरक्षा योजना लागु गरिएको सुनसरी प्रहरीले जनाएको छ । जिल्लाका सबै क्षेत्रमा आवश्यक्ता अनुरुपको सवारी साधन चेकिङ्ग सहित सुरक्षा तैनाथीको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक डिएसपी चिमोरियाले बताउनुभयो । विगतका वर्षहरुको अवस्था हेरेर संवेदनशील मानिएका क्षेत्रमा थप कडाई गर्न लागिएको प्रहरीले जनाएको छ ।

यस पटकको होलीमा प्रहरीले अनुहार नचिनिने गरी पेन्ट गर्ने, मनोरञ्जनका नाममा सार्वजनिक स्थानमा वाधा उत्पन्न हुने गरी कार्यक्रम गर्ने, मादक पदार्थ सेवन गर्दै हिँड्ने मात्र नभएर विना हेलमेट मोटरसाइकल कुदाउने, दुई जना भन्दा बढी सवार हुने र मापसे गरी सवारी साधन चलाएको भेटिए त्यस्ता व्यक्तिको हकमा तत्काल नियन्त्रण लिई कार्वाही चलाउने जनाएको छ । सुनसरी प्रहरीका अनुसार भोलिको होली पर्वलाई लक्षित गरी जिल्लाभर ७ सय बढी सुरक्षाकर्मी परिचालित हुने छन् ।

तपाईको प्रतिक्रिया