इनरुवा फागुन १७/इनरुवामा रहेको भगवती माध्यमिक विद्यालयको विषयमा बाहिरिएको समाचार प्रति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । शैक्षिक गुणस्तर खस्कँदै गएको र नयाँ भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत संचालनमा आउन नसक्दा विद्यार्थीले जिर्ण भवनमा पठन पाठन गरिरहनु परेको प्रति ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ट पार्टी इनरुवा नगर कमिटीले जनाएको छ ।

नगर कमिटी संयोजक लक्ष्मण कार्की नेतृत्वको टोलीले विद्यालयको समग्र अवस्थाको बारेमा जनगुनासो बढेकाले अनुगमन तथा अध्ययन थालिएको बताएको छ । नगर इन्चार्ज कार्कीले नयाँ भवन निर्माण सम्पन्न भैसक्दा समेत हस्तान्तरण प्रकृयामा जान नसक्नुलाई सूक्ष्म रुपमा छानबिन थालिएको बताउनुभयो ।

पूर्वाधार निर्माण भएको लामो समय बितिसक्दा समेत नयाँ भवन अलपत्र परेकोले संरचना जिर्ण बन्दै जाँदा लगानी समेत खेर जान थालेको भन्दै विद्यार्थीको सहज पठनपाठनको अवस्था सीर्जना गराउन आफुहरु लागिपरेको कार्कीको भनाई छ । विद्यालय व्यवस्थापनसँगै शैक्षिक गुणस्तर लगायतका विषयमा अभिभावकहरुबाट गुनासोहरु आउन थालेको बताउने विप्लव नेतृत्वको इनरुवा नगर कमिटीले आफुहरु शैक्षिक सुधार सहितको सहज पठनपाठनको पक्षमा रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया