- मिकाइल आलम

इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रको साविक चारवटा गाविस मिलाएर बनेको कोशी गाउँपालीका खुला दिशा मुक्त क्षेत्र घोषित भएको छ । कोशी कटानमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले कोशी गाउँपालीका लाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरेका हुन ।

सरसफाइ कार्यदल समिति कोशी गाउँपालीकाको समन्वयमा बुधबार वडा नम्बर ४,५ र ६ सहित गाउँपालीका लाई प्रयाप्त पूर्वाधार बिना नै खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले आरोप लगाएका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था मार्फत आएको पैसा सरसफाइ कार्यदल र कोशी गाउँपालीकाले हतार हतारमा गाउँपालीकालाई कागजमा मात्रै खुला दिशा मुक्त क्षेत्र बनाएको कोशी गाउँपालीका क्षेत्रका सर्वसाधारणले गुनासो गरेका छन् ।

सरसफाइ कार्यदल समितिको समन्वयमा केहि सिमित वडामा शौचालय मात्र निर्माण गरिएको र हतार हतारमा गाउँपालीकालाई कागजमा खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको स्थानीय जोगिन्द्र साहले गुनासो गरे । साहले औपचारिक कार्यक्रम मार्फत गाउँपालीका खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएपनि ४० देखि ६० प्रतिशत जनता अझै शौचालय प्रयोग नगरेको अवस्था रहेको बताए । औपचारिक कार्यक्रम गरिएपनि केहि सिमित व्यक्तिहरुको रोहवरमा गाउँपालीका लाई खुला दिशा मुक्त घोषणा गरेको साहले आरोप लगाए ।

वडालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न जनप्रतिनिधिले गरेको मेहनतको मुल्यांकन नगरिएको कोशी गाउँपालीका वडा नम्बर ६ का अध्यक्ष इन्द्रदेव यादवले बताए । २०७० सालदेखि वडालाई खुला दिशा मुक्त घोषणा गर्न आफूहरूले गरेको मेहनतको कदर नभएको कोशी गाउँपालीका वडा नम्बर ५ का स्थानीय अनिल कुशियैतले गुनासो गरे ।

शौचालय निर्माण नगरी गाउँपालीकालाई खुला दिशा मुक्त घोषणा गर्न हतार गरेको भन्दै कुशियैतले गाउँपालीकाको सो कार्यलाई अपरिपक्वताको संज्ञा दिए । खुला दिशा मुक्त क्षेत्रको बासिन्दा हुनु हामी सबैको चाहना भएको उनले बताए । तर कागजी तथ्यांकमा मात्र गाउँपालीका लाई खुला दिशा मुक्त घोषणा गरिएकोले कार्यान्वयनमा ल्याउन निरन्तर अनुगमन गर्नुपर्नेमा उनले जोड दिए । कुशियैतले गलत गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न गाउँपालीका लाई सुझाव समेत दिए ।

तपाईको प्रतिक्रिया