- मिकाइल आलम

१८ फागुन, इनरुवा । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बाढी पीडितलाई प्राथमिकतामा राखेको बताएका छन् । होली पर्वको अवसरमा शुक्रबार कोशी प्रभावित क्षेत्र श्रीपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन ।

२०६५ साल भदौ २ गते गएको बाढी बाट प्रभावितहरुको तथ्यांक संकलनको काम भैरहेको बताउदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिट्टै राहत प्याकेजको घोषणा गर्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भने तपाईंहरुलाई प्राथमिकतामा राखेर नै हामीले प्रदेश सरकारमा जगदीशप्रसाद कुशियैतज्यु लाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छौं ।

जनताको सरकार बनेको बताउदै मुख्यमन्त्री राईले अब विकास,समृद्धि र समानताको युग सुरु भएको बताए । एक नम्बर प्रदेशलाई देशकै सुन्दर र शान्त प्रदेश बनाउने यात्रा सुरु भएको उनले उल्लेख गरे। सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले अब देशमा राजनीतिक स्थायीको युग बनाउनुपर्नेमा जोड दिए । देशमा तीन तहकै निर्वाचन सम्पन्न भएसंगै समृद्धिको दिन सुरु भैसकेको उल्लेख गर्दै राईले नागरिकको सुरक्षा प्रदेश सरकारको पहिलो दायित्व भएको बताए ।

तपाईको प्रतिक्रिया