काठमाडौं, १९ फागुन । राष्ट्रिय सभाका लागि सरकारले सिफारिस गरेका ३ जना सांसदको शपथ भने नहुने भएको छ ।सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनीहरूको शपथ रोकिएको हो । राष्ट्रिय सभा सदस्यका लागि सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिले राष्ट्रिय सभामा उनीहरूलाई मनोनयन गरे पनि सर्वोच्चले शपथ नगराउन आदेश दिएको थियो । खतिवडा, बिडारी र पौडेलको मनोनयन संवैधानिक प्रावधानअनुकूल नदेखिएको भन्दै अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म शपथ नगर्न सर्वोच्चले भनेको छ ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि एमाले अध्यक्ष केपी ओलीले ८ फागुनमा राष्ट्रिय सभा सदस्यमा उनीहरूलाई सिफारिस गरेका थिए ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोही दिन तीनैजनालाई मनोनयन गरेकी थिइन् । तर, त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिले उनीहरूको मनोनयन रोकेकी थिइन् । देउवा सरकारले सिफारिस गरे पनि सांसद नबनेकाले असंवैधानिक कदम भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । मुद्दामा अन्तरिम आदेश सुनाउँदै सर्वोच्चले ३ जनाको शपथ रोक्न भनेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया