subidha

काठमाडाैं , मंसिर २६ । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई कानुनविपरीत आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि अर्बौं रुपैयाँको सुविधा दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन विलासी सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

गृहले कानुन र स्पष्ट मापदण्ड नबनाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने निर्णयका लागि प्रस्ताव गर्न आनाकानी गरिरहेका बेला प्रधानमन्त्री कार्यालयले लिखित निर्देशन दिएको हो ।

गृहको प्रस्तावबिनै सरकारले कानुनविपरीत पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसभामुख सुवास नेम्वाङलाई सुविधा दिइसकेको छ । यादवलाई विलासी गाडीसहित आवाससहितको सुविधा, पूर्वउपराष्ट्रपति झालाई २ करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी र पूर्वसभामुख नेम्वाङलाई ६० लाख रुपैयाँको गाडीसहितको सुविधा दिइएको छ ।

प्रधानमन्त्री कार्यालयको प्रस्तावमा पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन घरभाडा ५० हजार, मासिक वृत्ति ४० हजार, स्टेसनरी खर्च १२ हजार, गाडी मर्मत खर्च २५ हजार तथा ५० लाख रुपैयाँसम्मको गाडी, इन्धन मासिक १ सय ५० लिटर र मोबिल खर्च दिइने उल्लेख छ ।

पूर्वउपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसम्मलाई स्वकीय सचिवालयमा शाखा अधिकृत, चालक/भान्से र कार्यालय सहयोगी गरी तीन जना दिने प्रस्तावमा उल्लेख छ । अाजकाे  कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया