काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन् ।

०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। ०६२/६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए। तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन् ।

राष्ट्रपतिबाट मंसिर ३ मा नियुक्त ओलीले आइतबार संसद्मा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। संसद्मा मतविभाजन प्रक्रियाबाट गरिएको मतदानमा ओलीले ७५.६३ प्रतिशत मत पाएका हुन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ओलीका पक्षमा २ सय ८ मत परेको छ भने विपक्षमा जम्मा ६० मत परेको छ। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए।

प्रमुख विपक्षी कांग्रेसले मात्रै ओलीको विपक्षमा मत हालेको थियो। नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसे। वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री नियुक्त ओलीलाई मधेसकेन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए।

एमालेका १ सय २१, माओवादी केन्द्रका ५२ (एक जना सभामुखले मतदान नगरेको), राजपा १६ (रेशम चौधरी शपथ बाँकी), संघीय समाजवादी फोरम १६, राप्रपाका राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर मल्लले ओलीका पक्षमा मतदान गरेका थिए। ६३ जना सांसद रहेको प्रमुख विपक्षी कांग्रेसकै तीन जना सांसद मतदानमा अनुपस्थित थिए। नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि विदेशमा रहेकाले मतदानमा अनुपस्थित रहे ।

ओलीलाई प्रधानमन्त्रीमा समर्थन जनाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठ वटा प्रधानमन्त्रीको समर्थक आफू बसेको स्मरण गराए। ‘१० वर्षमा १० प्रधानमन्त्री भयौं। आठ वटा प्रधानमन्त्री बनाउने प्रस्तावक मै भएछु,’ उनले भने, ‘भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ? ’ दाहालले यस्तो धारणा राख्दा संसद्मा हाँसो छाएको थियो।

कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा बोल्ने मौका पाएका थिए। सांसद गगन थापाले संविधान संशोधनको कुरा गर्नु मात्र पनि राष्ट्रघात भन्ने एमालेले अहिले संशोधनको कुरा गरेको भन्दै व्यंग्य गरे।

स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन खोज्नुले ओली ‘तानाशाही’ बन्ने खतरा रहेको थापाले आरोप लगाए। वाम गठबन्धनको घोषणापत्र कार्यान्वयनका लागि अब दिनगन्ती सुरु भएको भन्दै उनले थपे, ‘घोषणापत्रको प्रतिबद्धता अब नगदमा चाहिन्छ, खनखन पैसा गनेजस्तो।’

जवाफमा ओलीले कटाक्ष गरे। कांग्रेसका युवा नेता गगनको उमेरजति आफूले लोकतन्त्रका लागि लडेको भन्दै लोकतन्त्र मास्ने कुनै पनि आशंका नगर्न आग्रह गरे। कार्यान्वयन गर्न नै चुनावी घोषणापत्र बनेको उनले बताए। ‘बिहान–बिहान पाठ पढेर पारि तर्नका लागि होइन, देश बनाउनका लागि हो। कार्यान्वयन हुन्छ’, उनले भने।

एकलव्यले गुरु नपाएजस्तो आफूले गुरु नपाए पनि काम गरेर देखाउने ओलीले बताए। ‘दलीय आधारमा नमिले पनि यो बैठकबाट बाहिर निस्केपछि ड्राइभर, गार्डले केपी ओलीलाई किन भोट दिनुभएन भनेर सोध्लान्,’ उनले ठट्यौली शैलीमा कांग्रेसलाई लक्ष्य गर्दै भने, ‘फर्की–फर्की आफ्नै मनले पनि सोध्ला, जवाफ दिने काम तपाईंहरूको !’अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया