काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने संकेत गरेसँगै वरिष्ठ नेता रामचन्द्र पौडेललाई ठूलो झट्का लागेको छ ।त्यसको प्रमाण संसदीय दलको नेता चयनका बेला देखिएको छ । महामन्त्री डा.कोइरालाले वरिष्ठ नेता पौडेललाई गुटको नेता अस्वीकार गरेपछि पौडेल समूह छिन्नभिन्न हुन पुगेको छ ।

संसदीय दलको नेता चयनको निर्वाचनमा प्रकाशमान सिंहलाई मत माग्नुपर्ने बेला पौडेल भने आफ्नो गृहजिल्ला तनहुँतिर लागे । सिंहदरबारमा मतदान चलिरहेका बेला नेता सिंहलाई मत माग्ने हिम्मत पौडेलले गरेनन् । बरु सिंहदरबार नै आएनन् । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका पौडेललाई सिंहदरबारमा आएर सभापति शेरबहादुर देउवाविरुद्ध सिंहका पक्षमा मत माग्न लाज लागेको टिप्पणी भएको छ ।

पौडेललाई महामन्त्री डा.कोइराला, प्रकाशमान सिंह, डा.मीनेन्द्र रिजाल, डा.नारायण खड्कासहितका नेताहरूले मान्न चाहँदैनन् । यी नेताहरूले पौडेललाई नेता मान्न छाडेको प्रमाण संसदीय दलको निर्वाचनले देखाएको छ । कमजोर अवस्थामा पुगेका पौडेल पछिल्लो समय निरास भएको एक नेताले बताए । पौडेलले डा.रामशरण महत र केही साना नेताहरूले मात्रै साथ दिएको बताइन्छ । त्यति मात्रै होइन पौडेलले आफ्नो पक्षमा रहेका सांसदहरूलाई पनि संरक्षण गर्न नसकेको आरोप छ ।

वरिष्ठ नेता पौडेलले आफ्ना सांसदहरूलाई संरक्षण वा नियन्त्रणमा राख्न सकेको भए नेता सिंहले झिनो मत पाउने थिएनन् । सिंहलाई पौडेल समूहका मानिने अधिकांश सांसदले मत दिएनन् । उनीहरूले देउवालाई नै मत दिए । देउवाले पनि पौडेल गुट छाडेकाहरुलाई छिटै नै उपहार दिने तयारी गरेको स्रोतको भनाई छ ।यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया