- अमर काफ्ले

इनरुवा । सुनसरीमा गयराती भएको आगलागीमा एक सय बढी घर टहरा जलेका छन् । विद्युत सर्ट भई आगलागी भएको भनिएपनि आगलागीको कारण भने खुल्न सकेको छैन् । सुनसरी प्रहरीले आगलागीमा ४६ परिवारको ७० घर टहरा जलेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमरियाले आगलागीमा एक करोड ३७ लाख ६० हजार बढीको क्षतिको अनुमान गरिएको बताउनुभयो । गयराती भएको आगलागीमा सुनसरीको बराह नगरपालिका वडा नम्वर ११ सरदार बस्तीका घर टहरा जलेका हुन् । आगलागीमा दर्जन बढी चौपाया समेत जलेर मरेका छन् ।

आगो पुरन चौधरीको गोठबाट सल्केको बताइएको छ । विद्युत सर्ट भई गोठमा आगो लागेको बताइएपनि यकिन भने हुन सकेको छैन् ।
गोठबाट सुरु भएको आगो पुरनको घरमा सल्केसँगै सिलिण्डर ग्यास पड्केपछि वस्तीमा आगो फैलिन पुगेको थियो । आगो लागेपछि सामान निकाल्ने क्रममा सिलिण्डर ग्यास पड्कदा अमरलाल उराव सहित प्रभु सरदार घाइते भएका छन् । उनिहरुको इनरुवा अस्पतालमा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

हावा चलिरहेको समयमा वस्तीका घरहरुमा सल्केको आगो एक पछि अर्को गोठबाट सल्केको आगोले सिलिण्डर पड्कदा भयावह बन्न पुगेको पत्यक्षदर्शीहरुको भनाई छ । आगलागीमा दर्जन बढी चौपाया समेत मरेका छन् भने खाद्यान्न, लत्ताकपडा सहितका सबै सामाग्री जलेपछि आगलागी पीडितहरुको विचल्ली भएको छ । रेडक्रस लगायतका संघसंस्थाले पीडितकालागि राहत वितरणको तयारी गरेका छन् ।  आगो इनरुवा, इटहरी ,धरानका दमकल र सुरक्षाकर्मी सहित स्थानीयको सहयोगमा अबेर राती नियन्त्रणमा लिइएको थियो । रातीको समयमा आगो लागेकाले समयमै स्रोत साधन सहित उद्धार टोली नपुगेकाले ठूलो क्षति पुगेको सर्वसाधारणले बताएका छन् ।

तपाईको प्रतिक्रिया