madhes-delhi1_c

‘तु करे तो रासलीला, हम करे तो क्यारेक्टर ढीला ?’ यो भारतको हिन्दीभाषी क्षेत्रमा प्रचलित एउटा प्रसिद्ध उखान हो । यसैलाई एउटा हिन्दी फिल्ममा शीर्षक गीत पनि बनाइएको छ । हिन्दी फिल्मको प्रभावले केही वर्षयता मधेसतिर पनि यो उखान प्रचलित भएको छ । पहाडे मूलका नेताहरुले दिल्लीसमक्ष लम्पसार परे पनि सामान्य रुपमा लिने तर मधेसी नेताहरुले दिल्लीतिर हेर्दा पनि कोकोहोलो मच्चाउने प्रवृत्तिमाथि कटाक्ष गर्न आजकल मधेसमा यो उखानको प्रयोग अत्यधिक हुने गर्दछ ।

यो उखानको उत्पतिबारे घटित पृष्ठभूमि पनि बडो रोचक छ । जब हिन्दु समाजमा खुलापन र गतिशीलता बढ्दै गयो, विवाहअगाडि युवक र युवती प्रेम प्रसंगमा पर्न थाले । तर प्रेमलीलाका माहिर खेलाडी कृष्णलाई भगवानको रुपमा पुज्ने रुढिवादी समाजलाई त्यो स्वीकार्य भएन । विवाहपछिको पति र पत्नीबीचको सम्बन्धलाई मात्र मान्यता दिँदै आएको घरपरिवार र समाजका बुढापाकाले त्यस्तो प्रेम प्रसंगलाई कडाइका साथ रोक्ने प्रयास गरेपछि युवाहरुले त्यसको प्रतिवाद गरे, ‘कृष्ण करे तो रासलीला, हम करे तो क्यारेक्टर ढीला ?’

अस्ति शुक्रबार जब आन्दोलनरत मधेसी
पार्टीका नेताहरु भारतीय राजदूतलाई भेट्न
लैनचौर गए, सञ्चारमाध्यम र चियागफमा
त्यस घटनालाई यसरी प्रचार गरियो मानौं,
मधेसी नेताहरुले कुनै ठूलै राष्ट्रघात गरे ।

यस उखानमार्फत् युवाहरुले पत्नी रुक्मिणीबाहेक राधासँग विवाहेत्तर सम्बन्ध राखेका र अन्य हजारौं प्रेमिका भएका कृष्णलाई भगवान मान्ने, तर आफूहरुलाई प्रेम गर्न प्रतिबन्ध लगाउने समाजप्रतिको सबभन्दा चोटिलो कटाक्ष गरेका छन् । मधेसी र पहाडी नेताहरुद्वारा भारत सरकार र दिल्लीको सत्ताप्रति दर्शाइने व्यवहार र दृष्टिकोणलाई दुई फरक मापदण्डले हेर्ने पहाडे समाजका शिक्षित वर्गमाथि सचेत मधेसी वर्गले हिजोआज यस्तै कटाक्ष र व्यङ्ग्य प्रकट गर्ने गरेका छन् ।

दिल्लीसँग नेपाली नेता र राजनीतिकर्मीहरुको सम्बन्ध र आचरणबारे नेपाली समाज अत्यन्तै सचेत र सावधान रहने गर्दछ । नेपाल र भारतबीच कायम असमान राजनीतिक सम्बन्धका कारण यस्तो भएको हुनुपर्दछ । जनसमुदायको यस्तो सचेतना र सावधानी नराम्रो पनि होइन । तर मधेसी र पहाडे मूलका नेताहरुले भारतीय नेता र सत्ताप्रति प्रकट गर्ने एउटै खालको आचरण र व्यवहारलाई दुई फरक दृष्टिले हेर्नु अत्यन्तै दोषपूर्ण छ ।

अस्ति शुक्रबार जब आन्दोलनरत मधेसी पार्टीका नेताहरु भारतीय राजदूतलाई भेट्न लैनचौर गए, सञ्चारमाध्यम र चियागफमा त्यस घटनालाई यसरी प्रचार गरियो मानौं, मधेसी नेताहरुले कुनै ठूलै राष्ट्रघात गरे । यदि नेपाली नेताहरु कुनै दूतावास गएर राष्ट्रघात हुन्छ भने मधेसी नेताहरु मात्र होइन, पहाडे मूलका नेताहरुले त्यस्तै गतिविधि गरे, त्यसलाई पनि राष्ट्रघात भन्नुपर्दछ ।

नेपाल–भारतबीच अनेकौं जायज र नाजायज
लेनदेन तथा सम्झौता त्यस्तै भ्रमण र दर्शनका
बेला भएको कसैबाट लुकेको छैन । तर भ्रमणकारी
मधेसी नेताहरुलाई अर्कै नजरले हेर्नु मधेसी
समुदायलाई आफ्नो नभई पराई तथा दोस्रो
दर्जाको नागरिकको रुपमा हेर्ने मानसिकताबाट
उपज परिणाम हो ।

यस्तै, मधेसी नेताहरुको हालैको दिल्लीभ्रमणबारे गरिने छलफल र चित्रणलाई हेरौं । नेपालकै इतिहासमा मधेसी नेताहरुको यो पहिलो औपचारिक भ्रमण थियो । आजसम्मकै घटनाक्रमलाई केलाउने हो भने पहाडे मूलका छोटादेखि बडा नेताहरुले हजारौ पटक दिल्लीको औपचारिक र अनौपचारिक भ्रमण तथा दर्शन गरिसकेका छन् । नेपाल–भारतबीच अनेकौं जायज र नाजायज लेनदेन तथा सम्झौता त्यस्तै भ्रमण र दर्शनका बेला भएको कसैबाट लुकेको छैन । तर भ्रमणकारी मधेसी नेताहरुलाई अर्कै नजरले हेर्नु मधेसी समुदायलाई आफ्नो नभई पराई तथा दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने मानसिकताबाट उपज परिणाम हो ।

दौरा–सुरुवाल र टोपी लगाएर विदेशीको जति नै दलाली गरे पनि, राष्ट्रहितविपरीत जति नै असमान सन्धि सम्झौता गरे पनि पहाडे मूलका नेता राष्ट्रवादी हुने तर छाला डढाएर जतिसुकै हलोकोदालो गरे पनि तथा लंगोटी लगाएर बिनाहातहतियार सिमानामा शताब्दीयौंदेखि पहरा दिए पनि मधेसीलाई कम राष्ट्रवादी देख्ने मानसिकता नहटेसम्म कमल थापाको दिल्लीयात्रालाई राष्ट्रिय हितमा भएको परिघटनाका रुपमा बुझ्ने र मधेसी नेताहरुको भ्रमणलाई चाहिँ अराष्ट्रिय गतिविधिका रुपमा हेर्ने अपराध भई नै रहने छ ।इसमताबाट

कुमार अमरेन्द्र
अमरेन्द्र पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया