काठमाडौं । शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व हत्याउन जहाँबाट सुरुवात गरेका थिए, त्यहीँबाट उनको पतनको सुरुवात भएको छ । देउवाले भातृसंगठनबाट जित्न सुरु गरेका थिए । अहिले तिनै संगठनले देउवाको साथ छाड्न सुरु गरेका छन् । नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी संघमा देउवा समूहले नराम्रोसँग पकड गुमाएको छ । देउवा समूहका अधिकांश उम्मेदवार पराजित भएका छन् ।

शिक्षक संघको अध्यक्षमा सुरेन्द्रराज पौडेल र निजामती कर्मचारी संघको अध्यक्षमा गोपाल पोखरेल विजयी भएका छन् । अध्यक्षमा विजयी भएका पौडेल र पोखरेल देउवा समूहका होइनन् ।स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले देउवा र उनकी पत्नी आरजु राणा देउवाका कारण पराजय भोग्नु परेको भन्दै शुभेच्छुकहरुले देउवा समूहलाई भोट दिएनन् ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा जितेर संसदीय दलको नेता वा मुख्य सचेतक पद खाने भनेर तयारी गरेकी आरजु पराजित भएपछि रनाह परेकी हुन् । आरजुलाई हराउन स्वयं शेरबहादुरका भक्त विमलेन्द्र निधि नै सक्रिय भएका थिए ।निधि पहिला आरजुलाई कैलालीबाट जिताउन भनेर सक्रिय भएका थिए । तर, आरजुले निधि र डा.शेखर कोइरालालाई हराउन आफ्ना खास व्यक्तिलाई प्रयोग गरेकी थिइन् ।

आजकाल निधि नै आरजुको विपक्षमा छन् । देउवासँगको पुरानो सम्बन्धका कारण निधिले गुट छाड्न सकेका छैनन् । तर, निधिले मौका मिल्ने वित्तिकै देउवा समूह छाड्ने तयारी गरेको स्रोतको भनाई छ ।आरजुले निधि र डा.कोइरालालाई हराउन तिनै व्यक्ति मार्फत पाँच/पाँच करोड दिएर पठाएको निधिको क्याम्पमा अहिले पनि चर्चा हुने गरेको छ ।

त्यस बेलाका प्रधानमन्त्री देउवाको पावर लगाएर आरजुले आफ्नै समूहका निधिलाई हराएकी हुन् । नत्र धनुषामा निधिले राजेन्द्र महतोलाई हराउने पक्का थियो ।मोरङमा डा.कोइरालाको जित पनि पक्का थियो । मोरङमा डा.कोइरालाले ६ सय ७८ मतले एमालेका लालबाबु पण्डितसँग पराजय भोग्नु परेको थियो । त्यही प्रदेशमा चुमनारायण सरदार र केदार कार्की विजयी भएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया